Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव


    मंगलबार, पुष २१ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

    नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको जानकारी दिनुभयो ।‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो । उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उहाँले जानकारी दिनुभयो ।

    भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।
    मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उहाँले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो ।’’ नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ ।

    मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ । उहाँले भन्नुभयो, ‘‘करिब दुई हप्ता तालिमको काम हुन्छ र त्यसपछि उक्त रेल सेवाको विधिवत् रूपमा उद्घाटन गरिनेछ ।’’ माघभरिमा यो सबै काम सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो ।

    थप कर्मचारीको टुङ्गो लाग्दै
    रेल सेवा सञ्चालनका लागि आन्तरिक कर्मचारीको व्यवस्थापन गर्नेबारे समेत टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिनेछ ।’’ अवकाश लिएर बस्नुभएका ६० जना कर्मचारीसँग सम्पर्क भइसकेको उहाँले बताउनुभयो ।

    रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नभएसम्म रेल्वेको सम्पूर्ण सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले यसअघि नै सशस्त्र प्रहरी बललाई दिइसकेको छ । मन्त्रिपरिषद्को बैठकबमोजिम अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार