Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चाँगुनारायण नगरपालिकामा बेथितिको पराकाष्टा, बाटो नभएका ठाउँमा पक्की पुल


    सोमबार, फाल्गुन १९ २०८१
    29.7K
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • विष्णुप्रसाद होमागाईं

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीको ठाडो खोलामा बाटो नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ । यो पुल वडा पालिकाको कार्यालयबाट झण्डै पाँच मिनेटको पैदलयात्रामा पर्छ । यसरी राज्यकोषको दुरुपयोग गरिएको भए पनि हालसम्म कतैबाट प्रश्न उठेको छैन । नगरपालिकाबाट दुई पटक गरी २० लाख रुपैयाँ बजेट बिनियोजन गरी यो पुल निर्माण गरिएको इन्जिनियर अन्जन कुमार दुलालले बताएका छन् । चाँगुनारायण नगरपालिकाबाट विनियोजित बजेटबाट पुल निर्माण भए पनि बाटो चाहिँ छैन । बाटो नै नभएको ठाउँमा पुुल निर्माण गरी बजेटको हदैसम्म दुरुपयोग गरिएको छ ।

    पक्की पुलको कुरै छाडौं, झोलुङ्गे पुल पनि नभएका कारण २०७८ साल साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ स्थित मालघाटमा भारतीय पक्षले तुईन काट्दा दार्चुलाका २६ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । अत्यावश्यक ठाउँमा झलुङ्गे पुलसमेत हाल्ने बजेट नहुँदा नेपालका कतिपय नदीमा असुरक्षित तुईनमा यात्रा गरेका कारण कैयौं नेपालीले अल्पकालमा ज्यान गुमाउनुपरेको छ ।

    अहिले बैदेशिक र आन्तरिक गरी २६ खर्ब ९ अर्ब ऋण नेपाल र नेपालीको काँधमा छ । यसरी २०७८ सालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० छ । यसरी ९२ हजार एक सय ४७ रुपैया ऋण प्रतिव्यक्ति पर्न जान्छ । राज्यले कर्मचारीलाई तलब खुवाउनका लागि विदेशीसँग ऋण माग्नुपर्ने अवस्थामा बाटो नभएका ठाउँमा पुल हालेर चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ‘कहीँ नभएको जात्रा हाडीगाउँमा’ भन्ने उखान चरितार्थ गराएका छन् । यो पुल नगरप्रमुख जीवन खत्रीको चाहनामा एमालेका स्थानीय नेता श्रीकण्ठ खड्का र नेपाली कांग्रेसका स्थानीय नेता पुस्कर खत्रीको जोडबलमा बनाइएको बुझिएको छ । उक्त पुल निर्माणका लागि एमालेका स्थानीय नेता खड्काकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तथापि बाटो नभएको ठाउँमा पुल बनाएपछि अहिले अलपत्रकै अवस्थामा छ ।

    बाटो नभएको ठाउँमा बजेट खर्च गरी निर्माण सुरु गरेको र सम्पन्न नगरी अलपत्र अवस्थामा छाडेको ताथलीको पुल

    गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौंदी नदीमाथि ५ करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भएको थियो । जहाँ बाटो नै थिएन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो । गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । बाटो नभएको ठाउँमा पुल बनाउने गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध १४ फागुन, २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । तर बाटो नभएको ठाउँमा पुल बनाउने मरहट्ठासहितकाह अधिकारीलाई पनि बिशेषले सफाइ दिएर अख्तियारको मेहनतमा पानी खन्याइदिएको थियो ।

    बाटो नभएको ठाउँमा बनेको पुलः के भन्छन् इन्जिनियर दाहाल ?

    सुरुमा कल्भर्ट र वाल निर्माणका लागि रकम विनियोजन भयो । त्यहाँ बाटो थिएन । पुल निर्माण गरेपछि बाटो खोल्छौं भनेर पुल बनाउन स्थानीयले दबाब दिए । तर, बाटो हालसम्म पनि बनेन । यो त कानूनी रुपमा नै दुरुपयोग भएन भन्ने प्रश्नमा इन्जिनियर दाहालले भने–‘यो पुल मापदण्डमा त भएन । तर, हामीले दबाब थेग्न सकेनौं’ । चाँगुनारायण नगरपालिका ९ नम्बर वडाध्यक्ष गणेश त्यातका अनुसार आफूले उक्त ठाउँमा पुल निर्माण गरिनुहुँदैन भनेर विरोध गर्दागर्दै पनि सुनुवाइ नभएको गुनासो गरे । त्यात नेपाल मजदूर किसान पार्टीका तर्फबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका हुन् भने नगरप्रमुख नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका व्यक्ति हुन् ।

    हचुवामा अनावश्यक कर्मचारी भर्ना

    संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) का अनुसार कति जना कर्मचारीको नगरपालिकामा दरबन्दी हो ? र, हाल कति स्थायी, करार र ज्यालादारी कर्मचारीहरु आवश्यकता छ ? त्यो विषयमा कुनै गम्भीर छलफलबिना र कुनै प्रतिवेदन बेगर नै झण्डै दुई सय कर्मचारीहरु आफ्नो कार्यकालको ३ वर्षको यो अवधिमा नगरप्रमुख खत्रीले जागिरमा भर्ना गरेका छन् । एक विज्ञका अनुसार खरिदार वा नासुबाट जागिर सुरु गरेका कर्मचारीहरुका लागि झण्डै ३० वर्षको आफ्नो कार्यकालमा तीन करोड रुपैयाँ तलब र भत्ताका लागि राज्यको व्ययभार पार्ने गरेको छ । तथापि नगरप्रमुख खत्रीले दीर्घकालीन असरको मतलव नगरी कसरी हुन्छ आफ्ना कार्यकर्तालाई जागिर खुवाउने एकपक्षीय योजनामा छन् । नगरपालिकामा झण्डै डेढ दर्जन शिक्षकहरु बाहिर जिल्लाबाट सरुवा गरी ल्याइएका छन् । ती शिक्षकसँग जनही दररेट अनुसार लिएर सरुवा गरिएको स्रोत बताउँछ ।

    नेपाली कांग्रेसनिकट भगिनी संगठनमा आवद्धहरु पहिलो प्राथमिकतामा छन् । पछिल्लो समयमा करारमा कर्मचारी हुनका लागि तोकादेश मात्रै नभएर तह अनुसार १ महिना र २ महिनाको तलब कमिसन बापत दिनुपर्ने नियम जस्तै नै बनाइएको एक कर्मचारीले खुलासा गरेका छन् ।

    त्यसपछि मात्रै जागिरको ग्यारेन्टी गरिन्छ । नगरपालिकाको बजेटबाटै तलब खाने गरी बिभिन्न विद्यालयमा ३१ जना शिक्षक जागिरमा राखिएका छन् । जबकि विद्यार्थीको संख्याको अनुपातमा ६७ जना शिक्षक बढी भएको प्रतिवेदन दिइएको थियो । अहिले नगरपालिकामा विज्ञदेखि सल्लाहकारसम्म जागिरमा जसरी पनि नियुक्ति लिने होडबाजी नै चलिआएको छ ।

    अर्को कार्यकालमा निर्वाचित हुने नगरप्रमुखलाई फलामको चिउरा बन्दै

    नगरप्रमुख खत्रीले करारमा राखेका कर्मचारीहरुका कारण आगामी कार्यकाल अति नै कठिन बन्दैछ । साधन र स्रोतबाट तलब भत्तामात्रै ख्वाएर विकास बजेट शून्यमा झर्ने अवस्थाका कारण नगरपालिकाको अवस्था दयनीय बन्नसक्ने चाँगुनारायण नगरपालिकाका बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा विभिन्न संघ संगठनको आवरणमा जोडिएर ज्यालादारी, करार र अस्थायीमा कार्यरत कर्मचारीहरु हटाउन फलामको चिउरा चपाउनु बराबर मानिन्छ । अहिले संघमा मात्रै २०÷२२ हजार कर्मचारी दशौं बर्षदेखि करारमा जागिर खाइरहेका छन् । कुनै बला राष्ट्रिय खेलकूद परिषद्मा १ हजार पाँच सय जना कर्मचारी करारामा राखेर तत्कालीन शिक्षा तथा खेलकूदमन्त्री बलबहादुर केसीले राज्यकोषको चरम दुरुपयोग गरेका थिए ।

    रकमान्तर गरी करोडौं रकम कोटेशनमा काम

    नगरप्रमुख खत्री र उपप्रमुख बुढाथोकीको मिलेमतोमा झण्डै पाँच करोड रुपैयाँ गत आर्थिक बर्ष २०८०÷०८१ को असार तेस्रो सातामा रकमान्तर गरी पाँच र १० लाखको योजना बनाएर अग्रिम कमिसन लिई असारे विकास गरेको नगपालिकाकै एक जना कर्मचारीले खुलसा गरेका छन् । यसरी ऐन कानूनबिपरीत काम भइरहँदा पनि स्थानीय बुद्धिजीवीहरु चुइँक्क बोलेका छैनन् ।

    नगरपालिकामा एक वडाध्यक्ष राप्रपा अर्का ९ नम्बर वडाका अध्यक्ष नेमकिपाका अधिकांश नेपाली कांग्रेसका कार्यकर्ताहरु भएपनि उपप्रमुख रमेश बुढाथोकी र प्रमुख खत्रीबीच निर्वाचनअघि नै अधिकार शेयरिङका विषयमा सम्झौता भएको बुझिएको छ । नेकपा (एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाका दाहिने हात मानिएका उपप्रमुख बुढाथोकीले पार्टीको पक्षमा भन्दा पनि नगरप्रमुखका स्वकीय सचिव गोविन्द थापाको सल्लाहकारको रुपमा काम गर्ने गरेका छन् । गोविन्द थापा नेपाली कांग्रेसको तर्फबाट तीन नम्बर वडामा वडाध्यक्षको उम्मेदवार बनेर पराजित भएका पात्र हुन् ।

    त्यसैकारण नगप्रमुख खत्रीले उपप्रमुख बुढाथोकीलाई राजस्व समितिको प्रमुख पनि बनाएका छन् । नगरप्रमुख खत्री र उपप्रमुख बुढाथोकी मिलेर नै ४–४ करोड रुपैयाँ बाड्ने सम्झौता गरिएको थियो । जस अनुसार अग्रिम कमिसन रकम माग गरी कोटेशनमा योजना बनाएर पाँच लाख र १० लाखका दरमा रकम बाँडिएको हो ।

    डोजर आतंक भएको भन्दै उपप्रमुखको हारगुहार

    उपप्रमुख बुढाथोकीले भक्तपुरको चाँगुनारायण नगरपालिकाको मुख्य चुनौती ‘डोजर आतंक’ देखिएको भन्दै पत्रकार सम्मेलनमा हार गुहार गरेका थिए । नगरपालिकामा अवैध प्लटिङ चलाउने र त्यसका लागि डोजर आतंक हुने गरेको उपप्रमुख बुढाथोकीले बताएका छन् ।

    नगरपालिका क्षेत्रभरि माटो ओसारपसार गर्ने र अवैध रूपमा बालुवा निकासी नियन्त्रणमै बितेको उनले गुनासो गरेका थिए । नगरपालिकामा अवैध चलेका डोजर नगर प्रहरीले पक्राउ गरेपछि साँचो लिन नगरपालिका आउँदा एउटा डोजर बराबर ५० हजार जरिवाना तिर्नुपर्छ ।

    यसरी एक वर्षमा २० औ लाख जरिवाना मात्रै उठेको बताएका छन् । तर, नगरप्रहरी र प्रमुखका स्वकीयहरुमार्फत् अवैध रुपमा चोरी तस्करी भइरहेको छ । यो कार्यबाट लाखौं रुपैयाँ गैरकानूनी आम्दानी नगर प्रमुखको सचिवालयमा जम्मा हुने गर्दछ ।

    त्यसैकारण केहीलाई पक्राउ गरिएको नाटक मञ्चन गरी तस्करी धन्दा नै चलाइएको स्रोतले उल्लेख गरेको छ ।

    कर्मचारीहरु पनि नातागोतामात्रै

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईं नगरका प्रवक्ता जनक खत्रीका भाइका ससुरा हुन् । नेपाली कांग्रेसमात्रै नभएर नाता सम्बन्ध पनि भएका कारण उनको योग्यता पुगेको कारण नगरपालिकामा प्रशासकीय पदमा सरुवा गराएको बताइन्छ । नगरपालिकामा प्रशासन प्रमुख सुरज पौडेल नेपाली कांग्रेसनिकट कर्मचारी युनियनका भक्तपुर जिल्लाका निवर्तमान अध्यक्ष हुन् ।

    त्यसैगरी सूचना अधिकारी अनुप लामिछानेलगायतका अधिकांश कर्मचारीहरु नगरप्रमुख खत्रीको इशारामा नाच्ने गर्दै आएका छन् । तथापि उनी आफ्ना दाहिने हातका रुपमा रहेका स्वकीय सचिव गोबिन्द थापा र गोकर्ण पुरीकै भरमा दुनो सोझ्याउने काममा अग्रसर भएको पाइन्छ ।

    नगरपालिकामा आर्थिक सहयोगका रुपमा रकम लिने कार्यकर्ताहरुकै घुइँचो लाग्ने गर्दछ । पार्टीका कार्यकर्ताहरुले कार्यक्रम बनाएर आएका कारण उनीहरुलाई आर्थिक सहायता दिने गरेको नगरप्रमुख खत्रीले भन्ने गरेका छन् ।
    डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार