Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अनियमितताको चाङमा चाँगुनारायण नगरपालिका, बालुवादेखि सरकारी जग्गासम्म पीएको सेटिङ


    सोमबार, फाल्गुन ५ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । चाँगुनारायण नगरपालिकाको भवन डीएलपी (दोष दायित्व अवधि) अघि नै क्षतविक्षत भएको छ । कानून अनुसार त्यो भवन हस्तान्तरण गरिएपछि १३ महिनासम्मको अवधि हुन्छ । नगरपालिकाको पूर्वाधार शाखाको अगाडिको भागमा नै ग्रेनाइटका टुक्रा–टुक्रा परेको देख्न सकिन्छ । अन्य तलामा पनि त्यही अवस्था छ । नगरपालिकामा कर्मचारीहरुको व्यवहार देख्दा आफ्नै हात जगन्नाथ भन्ने उखान चरितार्थ बनेको छ । नगरपालिकाका कर्मचारीका लागि गाडी धुने व्यवस्था छ । तर, त्यही अगाडि लगाएका सिमेन्टका टायलहरु उक्किएर बिजोग बनिसकेको अवस्था छ ।

    गैरकानूनी काम गर्न नमानेपछि प्रशासकीय अधिकृतलाई सरुवा गर्न दबाब

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गैरकानूनी काम नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँलाई सरुवा गर्न शक्ति लगाउँदैआएका छन् । मेयर खत्रीका स्वकीय गोकर्ण पुरीमार्फत् प्रमुख प्रशासकीय अधिकृतका लागि टेण्डर गरिएको स्रोत बताउँछ । प्रमुख प्रशासकीय अधिकृत हुमेगाइँले बालुवा खानी खोल्न नमानेका कारण त्यसो गरिएको बताइन्छ । हुमेगाइँलाई नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले बनेपा नगरपालिकाबाट सरुवा गरेर ल्याएका थिए ।

    प्रमुख प्रशासकीय हुमेगाईसँग नगरप्रमुख खत्रीको छोटो समयमै विभिन्न निर्णयका क्रममा खटपट परेको छ । पछिल्लो समयमा मेयरले सेटिङ गर्ने तर कार्यान्वयन गर्ने प्रशासकीय प्रमुखहरु नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निसानामा पर्ने गरेका कारण पनि अहिले कतिपय कर्मचारीहरु नगरप्रमुखको मौखिक आदेशमा काम गर्न चाहँदैनन् । नगरप्रमुख खत्रीका दूतहरु संघीय मामिला मन्त्रालयमा धाएर आफूअनुकूलको प्रशासकीय अधिकृतका लागि लागेका छन् ।

    नगरप्रमुखका पीएको आतंक

    निर्माण व्यवसायीहरुसँग ठेक्काको कमिसन जम्मा गर्ने कामका लागि नगरप्रमुख खत्रीले आफ्ना स्वकीयहरु गोकर्ण पुरी र गोविन्द थापालाई ग्रिन सिग्नल दिएका छन् । त्यसै अनुसार स्वकीय पुरीले नगर विकास कोषले दिएको बजेटबाट ठेक्का प्राप्त गरेका निर्माण व्यवसायी कम्पनीका सञ्चालकसँग मोटो रकम माग गरेको स्रोतको दाबी छ ।

    डायरी एक्सप्रेस साप्ताहिकका अनुसार कार्यालयको सेटिङको जिम्मेवारी स्वकीय पुरीकै रहेको छ । स्वकीय पुरीले अवैध बालुवा चोरी धन्दा सञ्चालन गर्नेहरुलाई संरक्षण गरी लाखौं रुपैयाँ जम्मा गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार स्वकीय पुरीले नगरप्रहरी र ठेकेदारहरुमार्फत् बालुवा बिक्री गरी कमिसन असुल गर्ने गरेका छन् । पुरीलाई मन नपरेका सेवाग्राहीलाई नगर प्रमुख भेट्न समेत कठिन छ । यसरी नगरप्रमुखका स्वकीयहरुले सार्वजनिक जग्गा दर्तामा सहजीकरण गरेबापत भन्दै कमिसनसमेत मागेर हैरान गर्ने गरेको एक जना स्थानीयको गुनासो छ ।

    सवारी साधन र इन्धनको ब्यापक दुरुपयोग

    नगरपालिकामा इन्धन र मर्मत खर्चको पनि ब्यापक दुरुपयोग भएको एक कर्मचारीले बताएका छन् । कतिपय कार्यकर्तालाई नगरप्रमुखको मौखिक तोकादेशमा इन्धन दिने गरिन्छ ।

    नगरपालिकाको चमेनागृहमा पनि लुटधन्दा

    नगरपालिकाको चमेनागृहमा खानाको दररेट नै छैन । सेवाग्राही र कर्मचारीलाई अलग्गै दररेटमा खाना र खाजाको मूल्य लिने गरिन्छ । सेवाग्राहीलाई खाना वा खाजा दिँदा बासी र चिसो खानेकुरा दिने गरेको एक सेवाग्राहीले बताए । यस विषयमा नगरप्रमुख जीवन खत्रीसँग प्रतिक्रिया लिँदा ‘उनले बासी खाना बेच्न नदिने गरेको बताए । सेवाग्राहीलाई महंगो दररेट लगाएर खाना दिने गरिंदैन’ । नगरप्रमुखले दररेट नै थाह पाउनुहुन्न किनकि उहाँको बिल कार्यालयले नै तिरिदिन्छ नगरपालिकाकै एक कर्मचारीले बताए । चमेनागृह सञ्चालन गर्नका लागि युनिसा खाजा पसलले ठेक्का पाए पनि मापदण्ड पालना गरेको छैन । बाहिरी होटलमा खाएर खानाको बिल ल्याउने कार्यकर्ताहरुको रकम नगरपालिकाले भुक्तानी गर्ने गरेको आरोप पनि छ ।

    नेपाली कांग्रेसनिकट संघ संस्थालाई मनपरी आर्थिक सहयोग

    नगरप्रमुख खत्रीले नेपाली कांग्रेसका भातृ संगठनलाई आर्थिक सहयोगका नाममा ठूलो रकम दुरुपयोग गरेका छन् । भातृ संगठनहरु तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, शिक्षक संघ, नेपाल निजामती कर्मचारी संघलगायतका संघ संघठनलाई लाखौं रकम तोकादेश गरी भुक्तानी गरिएको छ ।

    नगरप्रमुख खत्री कार्यकर्ताले मदिरा सेवन गरेको रकम पनि खाना खाएको भन्दै बिल भुक्तानी गर्न बाध्य भएको एक जना कर्मचारीले खुलासा गरे । आर्थिक ऐनले पार्टीलाई चन्दा–सहयोग दिन बर्जित गरेको छ । तथापि कतिपय नगरप्रमुखले वास्तै नगरी जनताको करको रकम कार्यकर्तालाई मनपरी बितरण गरिरहेका छन् ।

    सूचना अधिकारी सेवाग्राहीको पहुँच बाहिर

    नगरपालिकाले सूचना अधिकारी भनी अनुप लामिछानेको नाम कार्यालय र बेबसाइटमा टाँसेको छ । तर, उनले कहिल्यै पनि फोन उठाउँदैनन् । पत्रकारले पटक–पटक सम्पर्क गर्दा पनि उनको फोन नै उठ्दैन । हाम्रो फोन पनि उनले उठाउन आवश्यक ठानेनन् । आम सेवाग्राहीके पहुँच त आकाशको फल आँखातरी मर नै बनेको छ ।

    नगरपालिकामा भएका अनियमितताका विषयमा सूचना अधिकारी अनुप लामिछानेको मोबाइलमा पटक–पटक सम्पर्क गरी प्रतिक्रिया माग्दा घण्टी गए पनि फोन उठेन । प्रमुख प्रशासकीय अधिकृत शिव हुमेगाइँको मोबाइलमा सम्पर्क गर्दा पनि त्यही अवस्था भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार