Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चरेस तस्करीको नयाँ काइदा : हातमा जर्किन, जर्किनभित्र साढे ११ किलो चरेस


    शुक्रबार, फाल्गुन ९ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जर्किनभित्र लुकाएर पर्सा पुर्‍याइएको ११ किलो ४ सय ग्राम चरेससहित एक महिला पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-२ बुनियादकी ३० वर्षीया आरती यादव छिन्। वीरगन्ज महानगरपालिका-१६ बसपार्कमा कोठा भाडामा लिएर बस्दै आएकी उनलाई बुधबार राति ८ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    वीरगन्ज महानगरपालिका-१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

    ‘नेपालबाट भारत र भारतबाट नेपाल आउने पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा यादव पक्राउ परेकी हुन्,’ मिश्रले भने ।

    यादव हातमा रातो जर्किन बोकेर भारततिर जान लागेकी थिइन्। शंका लागेर जर्किन खोल्दा प्लाष्टिकमा सानो-सानो पोकामा लुकाएर राखिएको चरेस फेला परेको मिश्रले बताए ।

    यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको छ। यसअघि मंगलबार प्रहरीले जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट ११ किलो ९५० ग्राम चरेस बरामद गरेको थियो ।

    चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, बारा मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन् ।

    पक्राउ परेकी यादव भरिया भएको आशंका प्रहरीको छ। ‘उनले कहाँबाट चरेस ल्याइन् भन्नेबारे अनुसन्धान भइरहेको छ,’ मिश्रले भने ।

    पछिल्लो समय चरेस तस्करीको नयाँ तरिका अपनाइएको पाइएको छ। एक साताअघि गत शुक्रबार प्रहरीले वीरगन्ज-१६ चालिस फिट्टे सडकबाट सर्लाही विष्णुपुर गाउँपालिका-४ मधुवनगोठका ४५ वर्षीय सुधीर कर्णलाई पक्राउ गरेको थियो ।

    उनी जर्किनभित्र साढे ११ किलो चरेस लुकाएर भारततर्फ जाँदै थिए। जर्किनमा माथिपट्टी घ्यू थियो, तलपट्टी सानो-सानो पोको पारेर चरेस राखिएको थियो ।

    ‘खुला सीमाको फाइदा उठाउँदै भरियाहरूले नयाँ तरिका अपनाएर चरेस भारत लैजान खोजेको देखिन्छ,’ प्रहरी उपरीक्षक मिश्रले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार