Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मापसे चेकिङमा वडाध्यक्षले अवरोध गरेपछि लफडा, प्रहरीद्वारा हवाई फायर


    आइतबार, पुष २१ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही – सर्लाहीमा मापसे चेकिङका क्रममा स्थानीयसँग विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । गएराति सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरी र स्थानीय युवाबीच विवाद भएको थियो । सोक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो ।

    चेकिङका क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए । उनका अनुसार राति ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो । सोही क्रममा रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गरेका थिए ।

    स्थानीयको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको एसपी बोहराले बताए । रायको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ । तर, वडाध्यक्ष श्रीनन्दन यादवले भने प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको बताए । स्थानीय युवासँग प्रहरीको लफडा भएपछि आफूले छुट्याएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार