Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली करिडोर : हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै


    सोमबार, पुष ६ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सिमकोट । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताउनुभयो ।

    सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीदेखि सर्केगाड र चँखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउनयोग्य बनाउने उहाँले जानकारी दिनुभयो ।कवाडीदेखि सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगाड गाउँपालिका–१, बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न सिफारिससमेत भइसकेको छ । बालुकुनादेखि सर्केगाड–१, खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् ।

    बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।
    सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० जना र अन्य दुई सय जना कामदार संलग्न छन् । ग्याबिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने काम एकसाथ अगाडि बढिरहेको छ ।नेपाली सेनाले कवाडी खोला, गल्फागाड खोलामा बेलिब्रिज निर्माण गरेका कारण निर्माण सामग्री ढुवानी सहज भएको छ । करिडोरको निर्माण कार्य कोरोना महामारीका बेला केही समय रोकिए पनि त्यसपछि नियमित रूपमा हुँदै आएको छ ।

    हुम्ला खण्डको ताजाकोट र अदानचुली गाउँपालिका क्षेत्रको सडक खण्डमा सवारी साधन सञ्चालन भइरहेको ताँजाकोट गाउँपालिकाका जगतबहादुर शाहीले बताउनुभयो । सो सडक निर्माण भएपछि दुवै गाउँपालिकाको केन्द्रसम्म सवारी साधन चल्न थालेको उहाँले जानकारी दिनुभयो । दक्षिणी हुम्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । 

    यो समाचार आजको गोरखापत्रमा राजन रावतले लेखेका छन् ।  

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार