काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रूपमा संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेका हुन् ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।