काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुई दिने बिदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका छन् ।
नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्व विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘अब बल्ल कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्नकै लागि दुई दिने विदाको अवधारणा अगाडी ल्याइएको चर्चा गर्दै मन्त्री भट्टराईले यो अवधारणबारे विज्ञहरुसँग अझै छलफल र परामर्श भइरहेको जानकारी दिएका छन् । उनले भने–‘यो निर्णय भइसकेको विषय हैन, अझै छलफलमै छ । सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्छौं ।’ तर, कुनै पनि अवधारणा हिजो असफल भयो भनेकै आधारमा आज पनि असफल नहुने उनको भनाइ थियो । ‘हिजो असफल भयो होला तर त्यही कुरा समय र परिस्थिति बदलिदै जाँदा सफल पनि हुन्छ ।’ मन्त्री भट्टराईको भनाइ थियो । यसलाई थोरै समय काम गरेरै धेरै उत्पादन दिने कोणबाट पनि हेर्नुपर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भने–‘हामी अझै विज्ञहसँग छलफल गर्छौ, उचित निष्कर्ष निस्कियो भने अरु विदा कटौती गरेर पनि यो अवधारणा लागू गर्न सकिन्छ ।’
महामारीका कारण एक वर्ष सम्म वन्दावन्दीको अवस्थामा रहँदा मानिसमा उकुस–मुकुस भएकाले अर्को वर्ष नेपालमा पर्यटनको बाँध फुट्न सक्ने पनि उनले बताए । ‘ एक वर्षपछि नेपाल आउने पर्यटकको बाँध फुट्न सक्छ त्यसैले हामीले त्यसका लागि पूर्वतयारीका कामगरिरहनु जरुरी छ’ मन्त्री भट्टराईले भने ।
कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केही गरेन भनेर बाहिर सरकारको आलोचना हुने गरेको सन्दर्भ उल्लेख गर्र्र्दै मन्त्री भट्टराईले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नुपर्ने धारणा राखेका थिए । उनले भने–‘यो महामारीको पूर्वानुमान मै हुँ भन्ने सम्पन्न र ठूला देशहरुलाई पनि थिएन । कोभिडलाई लिएर आज अमेरिकी सरकारको पनि आलोचना भइरहेको छ । तर, हामीसँग जति साधन, स्रोत थियो, त्यसको भरपूर परिचालन गरेर काम गरेका छौं ।’ ‘कोभिड अगाडिसम्म यसको परीक्षण गर्ने एउटै ल्याव हामीसँग थिएन, अहिले हामीसँग ७५ वटा ल्याव छन् ।
कोभिड संक्रमितको निको दर हाम्रो ९५ प्रतिशत छ, जुन दक्षिण एसियामै पहिलो हो । मृत्युदर पनि एकाध मुलुक बाहेक दक्षिण एसियामा हामी निकै राम्रो अवस्थामा छौं, मन्त्री भट्टराईले भने, केही मानवीय क्षति भयो, यो दुखद पक्ष हो तर व्यवस्थापनमा हामी कमजोर छैनौंं ।’
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अयक्ष भोलानाथ पोखरेलले कर्मचारीको हकहितका बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।