काठमाडौं । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा सात प्रहरी र एकनाबालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई जन्मकैदको सजाय हुने भएको छ ।सात प्रहरी र एक नावालक सहित आठ जनाको हत्याका मुख्य योजनाकार चौधरीलाई बिहीबार उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले जानकारी दिएकी छिन् ।
उच्च अदालतले, यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको छ। जिल्ला अदालत कैलालीले लक्ष्मण चौधरीलाई तीन वर्षको सजाय फैसला गरेको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।
रेशम चौधरीसहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्दा दिएका थिए । रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए । सांसदको सपथ पनि लिएका चौधरी हाल कारागारमै छन् ।
यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका लक्षमण चौधरीलाई बिहीबार उच्च अदालतले अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो । उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुने गरी सुनाएको फैसलालाई नै सदर गरेको हो ।
बिहीबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो । जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् ।