रूपन्देही । जिल्ला अदालत रूपन्देहीले सामूहिक हत्याकाण्डमा संलग्नलाई जन्मकैदको फैसला सुनाएको छ । तिलोत्तमा नगरपालिका–१० मैनहवामा सात महिनाअघि भएको हत्याकाण्डमा संलग्न झसेन्द्र सिन्जाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले सुर्खेतको लेकबेंसी नगरपालिका–३ घर भई बुटवल बस्दै आएका ३१ वर्षीय सिन्जाली मगरलाई जन्मकैदको फैसला गरेको हो ।
सिन्जालीले २०७७ जेठ २ गते तिलोत्तमा–१० स्थित गंगादेवी पशु फार्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी पत्नी ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोषराज मुसहर, १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको हत्या गरेका थिए ।
फर्ममा सँगै काम गर्दै आएका सिन्जालीले आफूलाई उनीहरूले गलत अफवाह फैलाएर चरित्र–हत्या गरेपछि रिसको झोंकमा हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।