काठमाडौं । देशका सातै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तारका लागि गठन गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) गतिहीन छ । सेजको कार्यकारी निर्देशक नियुक्ति दुई वर्षदेखि हुनसकेको छैन । तदर्थवादमा चलिरहेको छ । मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा सेजको कार्यकारी निर्देशकका लागि विज्ञापन भयो, तर अहिलेसम्म नियुक्ति हुनसकेको छैन । सेज एक उपसचिव र एक ओभरसियरबाट बढुवा भएर दस ठाउँ चाहार्दै काजमा आएका इन्जीनियरका भरमा चलेको छ ।
सेजले पाँचखाल र सिमरामा औद्योगिक क्षेत्र विस्तारका लागि काम गरिरहेको छ । सेजको कार्यकारी निर्देशक नियुक्ति नभएकाले उद्योग मन्त्रालयका सहसचिव बलराम रिज्यालले हेर्ने जिम्मेवारी पाएका छन् । तर उनी सेजको कामकारवाहीमा त्यति ध्यान नदिई मन्त्रालयमै व्यस्त हुने गरेका छन् । रिज्यालले बेवास्ता गरेपछि सेजमा उपसचिव लव जोशीको हालीमुहाली छ । लव जोशी र काजमा आएका प्राविधिक माधवेन्द्र चौधरीले सेजमा मनपरी गर्दै आएका छन् ।
जोशी उद्योगमन्त्री लेखराज भट्टको अति निकट हुँ भन्दै चौधरीसँग मिलेर सेजको बजेटमा ब्रम्हलुट गर्दै आएका छन् । सेजको सिमरा र पाँचखालमा भइरहेको निर्माणमा यी दुई जना मिलेर ठेकेदारसँग घुस मागेर हैरान बनाइरहेको गुनासो छ । सेजको ठूलो बजेटमा उपसचिव जोशी र इन्जीनियर चौधरीको ब्रम्हलुट चलिरहेको छ । सेजमा कार्यरत करारका इन्जीनियरहरुलाई कार्यालय नै नभएको कैलालीलगायतका स्थानमा सरुवा गरिएको छ ।
उपसचिव जोशी र इन्जीनियर चौधरीले ब्रम्हलुट गर्न सेजको केन्द्रीय कार्यालयमा कार्यरत सबैलाई अन्यायपूर्वक सरुवा गरेका छन् । कार्यालय नै नभएको स्थानमा सरुवा गरिएपछि केहीले राजीनामा दिन बाध्य भएका छन् । इन्जीनियरहरुलाई राख्दा ठेकेदारसँग एक्लौटी कमिसन खान नपाउने भएपछि कार्यालय नै नभएको ठाउँमा सरुवा गरिएको छ । जोशी र चौधरीले इन्जीनियरहरुलाई सरुवा गरी ठेकेदारहरुलाई तर्साएर घुस मागेर आजित बनाएका छन् । उपसचिव जोशीलाई घुस खान सिकाउने र सहयोग गर्ने सबै काम इन्जीनियर चौधरीले गर्दै आएका छन् । इन्जीनियर चौधरी सेजमा काजमा आएका हुन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) बाट अहिले स्थानीय पूर्वाधार विभाग (डोली) मा ४÷५ वर्षसम्म ओभरसियरका रुपमा जिल्ला प्राविधिक कार्यालयमा काम गरेका इन्जीनियर चौधरी घुस नआउने कार्यालयमा बस्नै नसक्ने कर्मचारीका रुपमा चिनिन्छन् । डोलीमा घुस आउने भएर ४÷५ वर्ष टिकेका उनी त्यसपछि विभिन्न कार्यालयमा काजमा सरुवा हुने र घुस खान पान बस्ने नपाए ६ महिनामै अर्काे कार्यालय खोज्ने कर्मचारी हुन् । उनले यसरी घुस खान मात्र तल्लीन हुँदै आएका इन्जीनियर चौधरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा महल ठड्याएका छन् भने अथाह जग्गा जमिन र सम्पत्ति जोडेको उनलाई चिन्नेहरु बताउँछन् । पछिल्लो पटक उनी घुस खाने कार्यालय खोज्दै सेजमा काज सरुवा भएका छन् ।
सेजमा काज सरुवा हुने वित्तिकै उपसचिव लव जोशी उद्योग मन्त्री भट्टको निकट भएको थाहा पाए र उनलाई प्रयोग गरी सेजका इन्जीनियरहरुलाई लखेटेर ठेकेदारहरुसँग घुस मागेर सताउने गरेका छन् । फिल्डमा जाँदा ठेकेदारहरुलाई सौराहाका होटलहरुमा लैजान दबाब दिने र त्यहाँ महंगो होटलमा बसेर मदिरासहितको बिल तिराउने गर्दछन् ।
उपसचिव लव जोशी पनि सेजमा मन्त्री भट्टसँग अनुनय विनय गरी गएका हुन् । उनीभन्दा अगाडिका उपसचिव सुन्दर श्रेष्ठलाई काज फिर्ता गरी जोशी सेजमा जान सफल भएका हुन् । सेजमा गएपछि अनियमितता गर्न माहिर इन्जीनियर चौधरीसँग मिलेर ठेकेदारहरुबाट घुस लिएर जोशीले पनि महाराजगंमा घर बनाउँदैछन् । सेजमा गएको १ वर्षमै उनले महाराजगंजमा घर बनाउने हैसियत बनाएका छन् । चौधरीले नै उपसचिव जोशीको घर निर्माण भइरहेको भन्दै ठेकेदारहरुसँग घुस मागने गरेका छन् ।
सेजमा जोशी र चौधरीले मच्चाएको ब्रम्हलुटका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । नियम कानूनभन्दा माथि गई जोशी र चौधरीले सेजमा मनपरी गर्दै आएको आरोप छ । पाँचखाल र सिमरामा निर्माण भइरहेका सेजका संरचनाका ठेकेदारहरु पनि इन्जीनियर चौधरीको व्यवहारबाट वाक्कदिक्क भएका छन् । सेजमा प्राविधिक उपसचिवको दरबन्दी छ, तर उपसचिव जोशीले चौधरीबाट लाभ लिएर उपसचिवलाई आउनै नदिने भूमिका खेल्दै आएका छन् । उपसचिवको दरबन्दीमा ओभरसियरबाट बढुवा भएका इन्जीनियरलाई राखेर ब्रम्हलुट गर्ने कार्य जोशीबाट हुँदै आएको छ ।
को हुन् चौधरी ?
ओभरसियरबाट विशेष बढुवा भई इन्जीनियर भएका माधवेन्द्र चौधरीको जागिरे अवधिको ट्रयाक रेकर्ड राम्रो छैन । उनी घुस पर्याप्त लिन नपाउने कार्यालयमा ३ महिना पनि काम नगरी सरुवा हुने ओभरसियरका रुपमा चिनिन्छन् । २०५४ असार २ गते राजपत्र अनंकित ओभरसियरको रुपमा निजामती सेवा प्रवेश गरेका चौधरी सुरुमा खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय रुपन्देहीमा खटिएका थिए । त्यसपछि ३ महिनामै उनी भौतिक, योजना तथा निर्माण मन्त्रालय काठमाडौंमा छिरे । भौतिक मन्त्रालयबाट १ वर्ष नबित्दै २०५५ असोज २० गते सोही मन्त्रालय अन्तर्गत सरुवा भए । २०५९ असोज १७ मा उनी डोलिडारमा गए । डोलिडारबाट २०६३ असोज १२ मा जिल्ला प्राविधिक कार्यालय ओखलढुंगामा सरुवा भए ।
त्यसपछि २०६४ वैशाख १ मा ललितपुर प्राविधिक कार्यालय, २०६५ फागुन ३० गते महोत्तरी, २०६९ भदौ २९ मा मकवानपुरमा सरुवा भए र २०७० मा कार्यरत रहे । २०७० मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भए । त्यसपछि पुनः महोत्तरी जिल्ला प्राविधिक कार्यालयमा सरुवा भए । त्यसपछि २०७३ असोज १४ सम्म डोलिडार अन्तर्गत नै जिल्ला प्राविधिक कार्यालयमा कार्यरत रहे । त्यसपछि उनको सरुवा गोदावरी नगरपालिका ललितपुरमा २०७४ माघ २८ गते भयो । गोदावरी नगरपालिकामा जिल्ला प्राविधिक कार्यालयमा जस्तो घुस असुली गर्न नपाएपछि उनी ४ महिनामै २०७५ जेठ २७ गते घुस खान सहज हुन्छ कि भन्दै धनुषाको शबैला नगरपालिकामा सरुवा भए । त्यहाँ पनि चित्तोबुझ्दो कमिशन र घुस खान नपाएपछि उनी शबैलामा पनि टिक्न सकेनन् । उनी २०७५ मंसिर ११ गते उनी पुनः सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भए । २०७६ वैशाख १० मा उनी आयोजना कार्यान्वयन समूह खानेपानी मन्त्रालयको पुल दरबन्दीमा सरुवा भए ।
काभ्रेपलाञ्चोकमा उनी ५ महिना पनि टिक्न सकेनन् । खानेपानी मन्त्रालयबाट १३ महिनामै उनी वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका थिए । २०७७ असार १९ मा वातावरण मन्त्रालयमा सरुवा भएका उनी ३ महिना नबित्दै सेजमा काज सरुवा मिलाएर गएका हुन् । सेजमा सबै इन्जीनियरहरुलाई डाडाँकाडाँ कटाएर ओभरसियरबाट बढुवा भएका माधवेन्द्र चौधरीको हालीमुहाली चलेको छ । घुस असुल्न माहिर भएकाले उपसचिव जोशीले चौधरीले जे जे भन्छन्, सोही सोही गर्दै आएका छन् । घुस नआउने भएपछि उनी ५÷६ महिनामै सरुवा माग्दै घुस आउने कार्यालय खोज्दै डुल्ने गरेको ट्रयाक रेकर्ड देखिन्छ ।
मन्त्रालयले सेज हेर्ने जिम्मा दिएका सहसचिव बलराम रिज्याल भट्ट र चौधरीको मनपरीतन्त्रमा रमितेजस्तै देखिएका छन् । उपसचिव जोशी उद्योगमन्त्री भट्टका निकट भएकाले सहसचिव रिज्याल चुपचाप बसेको सेजमा जोशी र चौधरीको अन्यायमा परेका कर्मचारी बताउँछन् । सोमबारको साँघु साप्ताहिकमा समाचार छ ।
कार्यालय नै नभएको स्थानमा इन्जीनियरहरुको सरुवा गरेको बारेमा माधवेन्द्र चौधरीले भने जिम्मेवारी बाँडफाँड गरिएको हो, सरुवा गरिएको होइन । सेजका निर्माण गरिरहेका ठेकेदारहरुसँग घुस माग गरेको बारेमा उनले भने, ‘म भर्खरै आएको हो । म आएपछि टेण्डर भएको छैन । पहिल्यै ठेक्का लिएका ठेकेदारहरु मेरो सम्पर्कमै आएका छैनन् । कसरी कमिसन लिनु ?’
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend