काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँएकाे छ ।
सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।
फूलपाती भित्र्याउने चलन मुख्यगरी राजा महाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताइन्छ । खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ ।
फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।
विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।
गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ लैजान रोकियो । विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो ।
विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो ।
गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ ।
उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ ।
सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ
सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ ।
राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवद्र्धन र प्रवद्र्धनमा ठूलो भूमिका देखिँदै आएको छ ।



काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend