Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेशागत महासंघले भंग गरेको कमिटीको कार्यक्रममा लीलानाथ श्रेष्ठ प्रमुख अतिथि भएपछि…


    बुधबार, असोज २३ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पेशागत महासंघ नेपालले भंग गरेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामजीप्रसाद चौहानले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज लीलानाथ श्रेष्ठ नै प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।

    शनिबार (१९ असोज, २०८१)मा बर्दिबासमा आयोजित कार्यक्रममा भंग गरिएको कमिटीका अध्यक्ष चौहानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन् । पेशागत महासंघको मधेश प्रदेश कमिटीका अध्यक्ष चौहान पर्साको बहुदरमाई नगरपालिका वडा न. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौलका शिक्षक थिए । तर विद्यालयमा १ बर्ष हाजिर नभएपछि उनको हाजिरीमा रातो रेजा लगाएर बर्खास्तीको प्रक्रिया अगाडि बढाइएको थियो ।

    पछि बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफालाई घुस दिएर उनी पुनर्वहाली भए । पढाउँदै नपढाएको र विद्यालयमा एक बर्ष अनुपस्थित भएका चौहानले टिपेक्स लगाएर हाजिर भएको उजुरी सप्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । भ्रष्टाचार ठहरभएपछि चौहान केही महिना जेलमा समेत परेका थिए ।

    श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटार, रामजी चौहान र उनले गयल हाजिरीको तस्वीर

    टिपेक्स लगाएर हाजिर गरेकोमा भ्रष्टाचार ठहर भई संजाय भोगेको र मधेश प्रदेशमा शिक्षकदेखि कर्मचारीको सरुवामा पैसा उठाउनेदेखि विभिन्न आचरणबिपरीत क्रियाकलापमा संलग्न रहेको गुनासो आएपछि पेशागत महासंघको अनुशासन आयोगले छानबिन गरी उनलाई निस्कासन गर्न सिफारिस गरेको थियो ।

    आयोगको सिफारिसपछि पेशागत महासंघले उनलाई महासंघको मधेश प्रदेश कमिटीबाट निस्कासित गर्यो । निस्कासित भएपछि पनि चौहानले सरुवा गरिदिन्छु भन्दै महासंघको बदनाम गर्न नछाडेपछि मधेश प्रदेश कमिटी नै भंग गरेको थियो । तर पेशागत महासंघले भंग गरेको कमिटीले आयोजना गरेको कार्यक्रममा मधेश प्रदेश सहइन्चार्ज नै प्रमुख अतिथि भएर गएपछि एमाले निकट भातृ र शुभेच्छुक संस्थाका नेतृत्व गम्भीर भएको छ । यसले पार्टीभित्र अराजकता पैदा हुने चिन्ता उनीहरुमा देखिएको छ ।

    पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालसँग यसबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

    पेशागत महासंघले भंग गरेको कमिटीका अध्यक्षले बोलाएको कार्यक्रममा प्रमुख अतिथि भएकोबारेमा लीलानाथ श्रेष्ठसँग प्रतिक्रिया लिनका लागि फोन सम्पर्क गर्दा उनले पनि रिसिभ गरेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार