Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ : प्रचण्ड


    मंगलबार, असोज ८ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कटुआलोचकमध्येमा पर्दछन् राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ।

    बीबीसी नेपाली सेवामा लामो समय काम गरी नेपालमा बैकल्पिक राजनीतिक शक्ति खोलेर देशको विकास गर्ने सोचसहित विवेकशील साझा पार्टी खोले । उक्त पार्टीले गति लिन नसक्ने अवस्थामा पुगेपछि उनी राजासहितको नेपाल आवश्यक छ भन्ने ठहरसहित राप्रपामा लागे ।

    दुर्भाग्यबस उनी दुई पटक नै काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचन जित्न सकेनन् । उनी अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रचण्डले ल्याएकाले राजमार्गदेखि सबैको नाम उनकै नाममा हुनुपर्ने ब्यंग्य गर्ने गर्दछन् । उनले वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्ने ठान्दछन् । केही दिनअघि प्रचण्डको बारेमा दिएको मिश्रको अभिब्यक्ति निकै चर्चामा छ । उक्त अभिब्यक्तिको बारेमा प्रचण्डले आइतबारको एक कार्यक्रममा खण्डन पनि गरिसकेका छन् ।

    नेपालमा राजा आवश्यक छ भन्ने ठान्ने मिश्रलाई गणतन्त्र स्थापना गराउने मूख्य भूमिका भएका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमै बोलाएर मंगलबार भेटेका छन् । भेटमा प्रचण्ड र आफूबीच भएका कुरा भनेर मिश्रले लेखेका पंक्ति जस्ताको तस्तै :

    प्रचण्डसँग मनका कुरा !

    हिजो कार्यक्रममा भेट भयो । आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो ।

    ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’तिर उन्मुख हुँदैछ । र, त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’ नाम र सालिक केही बाँकी रहने छैन।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।

    त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो :

    १. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु ।

    २. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन् ।

    ३.द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिएँ । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

    ४. राजा ज्ञानेन्द्रले पनि २०६२–०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।

    ५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो ।

    ६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनुपर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।

    ७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।
    कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।

    सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा–बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ–वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए ।

    म चाहिँ ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छुु भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार