Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !


    मंगलबार, बैशाख ४ २०८१
    865
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिममा नयाँ सरकार निर्माणबारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरे पनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।

    यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफल पछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ । सोही अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केही सांसदहरुले छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडि बढ्ने विकल्पको बारेमा छलफल गरेका छन् ।

    नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटोबारे अहिले छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए ।

    स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबी रद्द गरेर नयाँ आह्वान गर्न सक्ने बताइएको छ । तर यसका लागि प्रदेश प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्नेसमेत विश्लेषण शुरु भएको छ ।

    आइतबार गरिएको दाबीमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पेश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार