काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ ।
क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रियाअघि बढाउन जिम्मेवारी दिइएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यस्तै, क्यानको २०७०/७१ देखि २०७५/७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६/७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।
आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दैअघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।
पाँच वर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष पेस गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।