काठमाडौं । स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी-२० मा होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन् ।
होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने खुलाइएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेलेका सन्दीपले २६ विकेट लिएका छन् ।
बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महशुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएपछि फर्केका सन्दीप अहिले चितवनमा छन् । नयाँ सिजनको बीबीएल आउँदाे डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि सुरु हुनेछ ।
यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।