काठमाडौं । प्रहरीको अपराध अनुसन्धान जस्तो गम्भीर प्रकृतिको कार्यक्षेत्रमा प्रहरी कर्मचारीहरु तालिमप्राप्त, इमान्दार, बफादार र अपराध अनुसन्धानमा पोख्त हुनुपर्छ । विवादरहित ढंगले काम गर्नसक्ने प्रहरी कर्मचारी हुनुपर्नेमा बदनाम–घुसखोरहरुको बाहुल्यताले गर्दा अपराध अनुसन्धानको क्षेत्रमा खटिने राम्रा प्रहरीहरुसमेतले त्यसको भागिदार हुनुपरेको छ ।
आउने दिनहरुमा नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षेत्रलाई चुस्त दुरुस्त बनाउनका लागि लामो समय बसेका, बदनामी कमाएका प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही गरी बदनाममुक्त बनाउन नवनियुक्त गृहमन्त्रीको ध्यान जानु जरुरी छ ।
काठमाडौं उपत्यकामा अपराध अनुसन्धानको क्षेत्रमा आधाजसो प्रहरी निष्ठापूर्वक काम गर्ने र अपराध अनुुसन्धानमा पोख्त छन् । तर आधाजति बदनाम प्रहरी कर्मचारीहरुका कारण सम्पूर्ण संगठन नै विवादमा पर्ने गरेको छ । कुनै समयमा अपराध अनुसन्धानमा पोख्त मानिने राजु भण्डारी (दारी)को टोली अपराध महाशाखाबाट काठमाडौं परिसरमा पोष्टिङ हुनेवित्तिकै अपहरणजस्तो अपराधिक कार्यमा संलग्न भई ३ प्रहरी नायब निरीक्षक(सई)का बिरुद्ध मुद्दा समेत चलाइएको थियो । दर्जा सानो भए पनि उनीहरुकै कारण उपत्यकामा प्रहरीको बदनाम भएकाले नयाँ जोशसहित आएका गृहमन्त्रीले यसबारेमा गम्भीरतापूर्वक सोच्ने अपेक्षा अपराध अनुसन्धानको क्षेत्रमा निष्ठापूर्वक काम गरिरहेका प्रहरीले गरेका छन् ।
सादा पोशाकमा बदनामकै लर्को
त्यस्तै, सुन लूटपाट, खाग चोरी–तस्करीमा संलग्न अधिकांश सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरु नै परेका छन् । हालै पनि उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र विभिन्न बृत्तहरुमा सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरु पटक–पटक कारबाहीमा परेकाहरु छन् । बरिष्ठ सई बिजय शाही लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लामा घुमुवा बसी बदनामी कमाएका प्रहरी हु्न् । उनलाई लुम्बिनी प्रदेशबाट कारबाहीस्वरुप प्रहरी प्रधान कार्यालयले तानियो । तर कारबाही होइन, उल्टै काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्रीले उनलाई पुरस्कृत गरी ५ महिनादेखि काठमाडौं परिसरको घुमुवा राखिएको छ । शाही खत्रीको भेगका हुन् ।
०७१–०७२ मा काठमाडौं परिसरको सीडीआर शाखामा कार्यरत रहँदा आर्थिक लाभ लिएर कलडिटेल दुरुपयोग गरेको आरोपमा हटाइएका अर्का बरिष्ठ सई रामचन्द्र भण्डारीलाई एसएसपी खत्रीले ससम्मान सोही शाखामा ल्याएर राखेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि विभिन्न काण्डमा परेकाहरुलाई घुमुवा राखेको छ ।
त्यसैगरी काठमाडौं प्रहरी परिसर र मातहतका बृत्तमा कार्यरत हवल्दार राधेश्याम साह, जवान कमल देवकोटा, बिष्णु सापकोटा, करुण श्रेष्ठ कुनै न कुनै काण्डमा परेका थिए । अहिले उनीहरु उपत्यकामा सादा पोशाकका घुमुवाका रुपमा कार्यरत छन् । माथि उल्लेखित यी प्रहरीको न कुनै अपराध अनुसन्धानमा दक्षता छ, न कुनै तालिम नै प्राप्त गरेका छन् । आफ्नो बदनियत लुकाउन हाकिमको प्यारो बनी लामो समयदेखि काठमाडौंमा कार्यरत छन् ।
माथि उल्लेखित प्रहरीमध्ये कतिपयको दरबन्दी काठमाडौं बाहिर भए पनि जाँदैनन् । सोर्सफोर्स लगाई पटक–पटक एउटै ठाउँमा सादा पोशाकमा खटिन र उठन्ती धन्दामा सक्रिय छन् । लैनचौर बृत्तमा घुमुवामा कार्यरत करुण श्रेष्ठ पटक पटक त्यहाँ घुमुवा हुँदा आर्थिक लेनदेनमा मुछिई कारबाही गरी हटाइएका भए पनि फेरि त्यहीँ सोर्सफोर्स लगाएरै पुगेका छन् । करुणको दावासँग बाक्लो उठबस थियो । दाबा र चलाउने दुबै सोह्रखुट्टे क्षेत्रमा कारोबार गर्ने भएकाले उनीहरुको सम्बन्ध निकट रहेको थियो । राधेश्याम साह गौशाला बृत्तमा हुँदा जुवातास खेलाउने र क्याविन रेष्टुरेन्ट संचालकहरुसँग लाभ लिएको पाइएपछि हटाइएका थिए । अहिले उनी काठमाडौं परिसरबाट सादा पोशाकमा घुमुवाका रुपमा खटिएका छन् । बिष्णु सापकोटा कालिमाटी र बानेश्वर बृत्तमा बदनामी कमाएका अधिकृत हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्समा कार्यरत सई अरुण उप्रेती पनि प्रहरीमा विवादास्पद छवि भएका जुनियर अधिकृतभित्र पर्दछन् । विभिन्न काण्डमा परेका उनी रमेश खरेल काठमाडौं परिसरको एसएसपी भएर आउँदा उनी नागढुंगा चौकीको इन्चार्ज थिए । खरेलले कारबाही गर्ने सईको पाएपछि उनी हतार हतार उपत्यका प्रहरी कार्यालयमा शक्तिकेन्द्र नै लगाएर सरुवा भई जोगिएका थिए ।
ललितपुर परिसरमा कार्यरत सई पार्वती उपाध्यायले आर्थिक लेनदेन गरी पारी जबर्जस्ती चेक कटाएको भेटिएपछि एआईजी दिवेश लोहनीले कारबाही गरी त्रिभुवन विमानस्थलमा सरुवा गरिदिएका थिए । सिद्धिविक्रम शाह ललितपुर परिसरको प्रमुख भएपछि उनलाई पुनः ललितपुरमा ल्याइएको छ । उनी अहिले पनि प्रहरीको कर्तब्यतिर भन्दा कमाउधन्दामै लिप्त भएको आरोप छ ।
यी त प्रतिनिधि उदाहरणमात्र हुन्, अधिकांश उपत्यकाका बृत्त र प्रभागमा सिभिलमा खटिने प्रहरी कर्मचारीहरु बदनाम, हाकिमको पैसा उठाउने, फाइदा दिलाउने र खुसी पार्नमै तल्लीन रहने गरेका छन् । अपराध नियन्त्रणको पवित्र उद्देश्य राखी सिभिल प्रहरी खटाउने गरिन्छ । तर विभिन्न काण्डमा परेका बदनामलाई सिभिलमा खटाउँदा उनीहरु आर्थिक लेनदेनमा मात्र केन्द्रित भएकाले पछिल्ला दिनमा अपराधिक घटना बढिरहेका छन् ।
सिभिलमा खटिने प्रहरीको अनुगमनका लागि तालिम प्राप्त टोली नखटाए यसले विकराल रुप लिने निश्चित रहेको प्रहरी अधिकारी नै स्वीकार्छन् । प्रहरीको बर्दीमा सुन तस्करसँग सेटिङ गरेको फेलापरेपछि एसएसपी श्याम खत्रीले जेल नै बस्नुपरेको नजीर त छँदैछ ।
काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार राति भक्तपुरस्थित निवासबाट उनलाई...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend