Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमानस्थलको सुरक्षाका लागि बेग्लै युनिट बनाउन पर्यटनमन्त्रीको पहल


    मंगलबार, मंसिर २ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका हुन्।

    अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले त्यसको नियन्त्रणका लागि छुट्टै विशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने उनले बताए।

    त्यसका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठन गर्ने सम्बन्धमा छलफल अगाडि बढाएको उनको भनाइ छ।

    मन्त्री भट्टराईले देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तर तर्फको सीमाना नजिक रहेको र त्यस्ता विमानस्थल बढी संवेदनशील हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिनेगरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने बताए।

    नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भए पनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी क्षमताको विमानस्थल सुरक्षा ब्यारेक निर्माण सम्पन्न भई मंगलबार समुद्घाटन गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार