काठमाडौं । कोरोना भाइरसको कारण भारतमा मात्र थप आठजना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरु भारतको महाराष्ट्र र चेन्नईका रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ९३ जना पुगेको छ ।
हालसम्म विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।
अहिलेसम्म यूके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सामाजिक दूरी कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।