Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र र नेपाल प्रहरीको सेटिङमा पर्साका भिस्वा र जानकीटोलाबाट ब्यापक तस्करी 


    आइतबार, कार्तिक ३० २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • संजीव बानियाँ, सूर्यनारायण चौधरी र प्रेम मिश्रा

    धर्मेन्द्रप्रसाद यादव

    बीरगंज । पर्साका विभिन्न सीमानाकाबाट भन्सारछली गरी तस्करी हुँदैआएको छ । भिस्वा र जानकिटोला नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य मौलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्चार्जहरुले तस्कर गिरोहहरुसँग साँठगाँठ गरी सीमावर्ती क्षेत्रहरुबाट तस्करी निर्वाध भइरहेको छ ।  

    तस्करको समूहले दुबै प्रहरीसँग लाखौ रुपैयाँ दिएर सेटिङ गरी भन्सारछली गरी सामान नेपालतर्फ भित्र्याउने गरेका छन् । भिस्वा र जानकिटोला नाका हुँदै दिनप्रतिदिन भारतबाट इलेक्ट्रोनिक पार्ट्स, लत्ताकपडा, गाडीको पार्ट्स, हार्डवेयर, ब्याट्री, मोबाइल, काजु, किसमिस, सूर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी,आलु, प्याज, खानेतेल, चपल, खसीबाख्रा, राँगा, भैंसीसमेत नेपालतर्फ भित्र्याउने गरेका छन् ।

    bhasai.jpg

    मदिरादेखि भैंसीसम्म तस्करी 

    त्यस्तै नेपालबाट केराउ, मरिच, छोगडा, खुखरी सिगरेट, कवाडीलगायतका सामान भारततर्फ प्रहरीको सेटिङमा जाने गरेको छ । सशस्त्र प्रहरी भिस्वाका इन्चार्ज सँजीव बानियाँ, प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रेम मिश्रा र जानकीटोला चौकीका इन्चार्ज सूर्यनारायण चौधरीले तस्कर गिरोहसँग मासिक लाखौ रुपैयाँ घुस बुझी तस्करीको लाइन दिएको स्रोतले जानाएको छ । स्रोतका अनुसार यी नाकाबाट रातिको समयमा प्रतिदिन लाखौं लाखको मालसमान सीमा नाका हुँदै ओसारपसार हुने गरेको छ । स्थानीय प्रहरी चौकी र स्थानीय बोर्डर आउट पोष्टको मिलोमतोमा तस्करी कार्य फस्टाए पनि सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र जिल्ला प्रहरी पर्सा प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको नजर पुगेको छैन । तस्करहरुको सेटिङ उनीहरुसम्म भएकाले पनि उनीहरुले थाहा पाए पनि आँखा चिम्लिएको आरोप खड्का र पन्तमाथि लाग्ने गरेको छ । पछिल्ला दिनमा भिस्वा र जानकिटोला नाकाबाट तस्करी बढी हुने गरेको छ ।

    यता स्थानीय प्रशासनले कोरोना संक्रमणका कारण सीमाका मुख्य नाकाहरु बन्द भएको देखाएर सहायक नाकाबाट सेटिङमा तस्करी गराइरहेका छन् । स्थानीय प्रहरी प्रशासनलाई मासिक दररेट तोकेरै नजराना दिई भिस्वा र जानकीटोला नाकाबाट तस्करी हुँदैआएको छ । त्यस्तो दररेट १ लाखदेखि ३ लाखसम्म रहेको स्रोतको दाबी छ ।

    tassri.jpg

    रातिको समयमा मोटरसाइकलमा तस्करी 

    त्यस्तै विभिन्न संचारमाध्यममा प्रहरी र सशस्त्रका हाकिमले घुमुवा प्रहरी परिचालन गरी तस्करसँग कनेक्सन मिलाउने गरेको समाचार आएपछि बंजारी बीओपीका इन्चार्ज सजीव बानियाँले आफूमाथि छानबिन हुने डरले घुमुवा हटाएका छन् । केही दिनअघि अनरजित गिरीको भारतबाट आउँदै गरेको भैंसी छिपहरमाई वडा नम्बर १ भलुवहिया ओरिया खोलामा रोकेर घुमुवा श्याम यादवले ७  हजार रूपैयाँ लिएर बानियाँको आदेशमा छोडेको कुरा बाहिरिएपछि उनलाई घुमुवाबाट हटाइएको थियो । त्यो काण्डमा निरीक्षक बानियाँलाई पनि छानबिन हुने देखिएपछि घुमुवा हटाएर उनी कारवाहीबाट जोगिएका थिए । सो कुरा स्थानीय संचार माध्यममा पनि व्यापक भएको थियो । श्याम यादवलाई घुमुवाबाट हटाएपछि बानियाँले वरिष्ठ हवल्दार दिनेश यादव र सिपाही सुरेन्द्र यादवलाई घुमुवाका रूपमा परिचालन गरेका थिए । बानियाँले परिचालन गर्दै ती घुमुवाले पनि तस्करसँग रकम लिई तस्करी गराएको बिषय बाहिरिएपछि उनीहरुलाई पनि हटाउन बाध्य भएका छन् ।

    भिस्वा चौकीका इन्चार्ज प्रेम मिश्रा जहाँ गए पनि विवादमा आउने गरेका छन् । मिश्रा परवानीपुरमा कार्यरत रहँदा पनि एक महिनामा पूरै टोली चेन्ज गरिएको थियो । भिस्वामा पनि कोरोनाकै कारण प्रहरी मुख्यालयले विगतमा हुँदै आएको बडाभोजदेखि बलि काटमार सबै रोक्न निर्देशन दिएको थियो । मुख्यालयदेखि प्रदेशमा समेत काटमार र भोजभतेरका कार्यक्रम भएनन् । तर प्रहरी चौकी भिस्वामा भने व्पापारीदेखि तस्कर र केही राजनीतिक दलका नेता कार्यकर्ताका साथै जनप्रतिनिधिहरूलाई बोलाएर भव्य भोजभतेर गरिएको बिषयमा २ नं प्रदेश प्रहरी कार्यालयका डीआइजी धिरजप्रताप सिंहसम्मै सूचना पुगेको छ । उक्त दिन प्रहरी चौकी भिस्वाका इन्चार्ज मिश्राले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म मदिरासहितको भोज गरेका थिए । १ बजेदेखि ४ बजेसम्म पार्टीका नेता–कार्यकर्तालाई बोलाइएको थियो भने त्यसपछि व्यापारी र तस्करलाई बोलाइएको थियो । भोजमा बियर, ह्वीस्कीदेखि स्थानीय मदिराको व्यवस्था गरिएको थियो । भोजका लागि आवश्यक रकम तस्करहरुबाटै उठाइएको थियो । चौकी इन्चार्ज मिश्राले घुमुवा प्रहरी सुरेश कुशवाहालाई परिचालन गरी भोजका लागि आवश्यक बजेट संकलन गरेका थिए ।

    भोजका लागि भन्दै घुमुवा कुशवाहाले तस्करहरुबाट दररेट तोकेर रकम संकलन गरेका थिए । अहिले भिस्वा नाका तस्करहरूको लागि उर्वरभूमि बनेको छ । उक्त नाकाबाट भैंसी र गोरूको तस्करी पनि व्यापक मात्रामा चलेको छ । भैंसी र गोरू तस्करहरूले प्रहरीको हकमा १ हजार र सशस्त्रको हकमा १५ सय रूपैयाँका दरले दिदै आएका छन् । यी तस्करहरुसँग सेटिङ मिलाउने काम भने प्रहरीका घुमुवा हवल्दार कुशवाहाले गर्दै आएका छन् ।

     भिस्वाबाट चोरी तस्करीको कनेक्सन मिलाउने काम घुमुवा प्रहरी कुशवाहाले गर्ने गरेका छन् । जानकिटोला प्रहरी चौकीका सई सूर्य नारायण चौधरीकै संरक्षणमा ठूला जुवाखाल चलिरहेका छन् । प्रहरी संरक्षणमा जुवा खेल हुने गरेको सूचना इलाका प्रहरी पोखरिया र जिल्ला प्रहरी पर्सासम्म पुगिसकेको छ । तर एसपी पन्तले यसबारेमा चासो नै नदिएकाले चौधरीको सेटिङ माथिसम्म रहेको देखिन्छ । जिल्लाका एसपी र इप्रका पोखरियाका इन्चार्जलाई पनि दिनुपर्छ बताउदै भिस्वा र जानकीटोला खुलेआम रकम असुली भइरहेको छ ।

    तिहारको समयमा पेशेवेर जुवाडेले प्रहरीसँग सेटिङ मिलाएर धन्दा चलाइरहेका छन् । अहिले यो पेशेवर जुवाडे समूहले जानकीटोला क्षेत्रको विभिन्न ठाउँ सारेर ठूलो जुवा अखडा संचालन गरिरहेका छन् । जुवा अखाडा संचालकले जानकीटोला चौकीलाई सेटिङ मिलाएका छन् । भिस्वा नाका पर्साको दोस्रो ठूलो नाकाको रुपमा चिनिन्छ र त्यहाँ पावर वा पैसा बुझाएर हाकिमलाई प्रभावमा पार्नेमात्र इन्चार्ज हुने गरेका छन् । भिस्वा र सिक्टा एकआपसमा जोडिएका छन् । यी दुई ठाउँको दूरी २० मिटरको पनि छैन । भिस्वामा घुमुवाहरुले नै तस्करलाई सघाउने गर्छन् र सशस्त्र प्रहरीले नामको लागि मुख्य नाकामा फलामे काँडेतार लगाउने गरेको छ । दिउँसो वडा कार्यालयको अगाडिको बाटो प्रयोग गरेर भिस्वाका तस्करहरुले लेबर मजदुर प्रयोग गरी थोरै थोरै सामान दिनभरी कटाएर स्टोर मा जम्मा गर्छन् र रातिको समयमा घुमुवा महतोले लाइन क्लीयर गराई तस्करी सुचारु गर्दै भारत र नेपालतर्फ भन्सारछलीका सामान ओसारपसार गराउादैआएका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार