काठमाडौँ।आज कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मी पूजा मनाइँदै छ । फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले यो दिन घर आँगन, कोठा र घर गोठका कुनाकन्दरा सफा गर्ने चलन छ । चारैतिर बत्ती बालेर झिलीमिली पारेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ।
लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ । घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिषी डा। सुनील सिटौला बताउनुहुन्छ ।
आज शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । लक्ष्मी पूजाकै दिन बेलुकी समूह बनाई घरघरमा भैलो खेल्ने चलन छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेकोछ ।