आक्रमणमा परेका मिनबहादुर गुरुङ(राज) र आक्रम गर्ने युवराज घले गुरुङ
काठमाडौं । गुण्डानाइके कुमार घैंटेलाई प्रहरीले इन्काउन्टरमा मारेपछि तितरबितर भएको उक्त समूह पुनः सल्बलाउन थालेको छ । घैंटे समूहमा आवद्ध रहेका युवराज घले गुरुङले डिस्कोमा सेयर मागेको र नदिएपछि हिडेन डिस्कोका संचालक राज गुरुङमाथि बुधबार सांघातिक आक्रमण गरेको छ । युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज)लार्ई उक्त समूहले आक्रमण गरेको हो ।
घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि घले समूहले उनीमाथि आक्रमण गरेको थियो । बुधबार सो समूहले आक्रमण गरेपछि राज गुरुङले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कारबाहीका लागि उजुरी दिएका छन् । उजुरीमा युवराजको समूहले पेस्तोल देखाएर जबरजस्ती डिस्कोमा शेयर मागेको र विना लगानी दिन नसक्ने बताएपछि आक्रमणमा उत्रिएको उल्लेख छ । आक्रमणपछि घाइते गुरुङको ग्रिनसिटी अस्पतालमा उपचार गरिएको उनका परिवारजनले बताएका छन् ।
घैटे इन्काउन्टर घटनामा प्रहरीलाई धम्की दिएको आरोपमा युवराज घलेलाई नुवाकोटबाट पक्राउ गरी मुद्दा चलाएर तीन बर्ष जेल संजाय भएको थियो । उनीसँग हातहतियार र बुलेटप्रुफ ज्याकेटसमेत फेला परेपछि जेल सजाय भएको थियो । युवराज घलेको काम नै विनालगानी डिस्को र लाउन्जमा सेयर माग्ने र नदिए पेस्तोल देखाएर तर्साउने हुँदैआएको छ । अहिले पनि काठमाडौंदेखि नुवाकोट र धादिङका ठेक्कापट्टामा उनले गुण्डागर्दी गरी असुली गर्ने गरेको आरोप छ ।