बैतडी। बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो ।
मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रु ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो । विसं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।
लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लोसोराड क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य धमाधम शुरु भएको छ । यसले हामीलाई धेरै खुसी लागेको छ ।” पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि नै जारी छ ।
अहिले सलेनासम्म सो खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिनुभयो । दिवा चन्द्रा एण्ड वसन्ता जेभीले सो खण्डमा कालोपत्रे गरिरहेको छ । सङ्घीय सरकार मातहत रहेको सो सडक सङ्घीय संरचनापछि प्रदेश सरकार मातहत रहेको छ । कोरोना भाइरसका कारण सडक कालोपत्रे गर्न केही ढिलाइ भए पनि निर्माण कार्य भइरहेको जोशीले बताउनुभयो ।रासस