पोखरा । लागूऔषधसहित पक्राउ परेकालाई छुटाउन कास्की जिल्ला प्रहरी कार्यालयका अधिकारीहरु लागेका छन् । १ महिनाअघिमात्र लागूऔषध डाइजापाम, फेनेरागन, बुर्फिनर्फिनसहित पक्राउ परेका समिर गुरुङ लगायत ५ जनालाई छुटाउन कास्की प्रहरीमा आर्थिक चलखेल भएको स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा असोज १७ गते कास्की तुम्केस्थितमा बाटोमा हिंडिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको जनाएको थियो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं १६ जोगमणी बस्ने बर्ष २१ का समिर गुरुङ, अथित गुरुङ, मोहित खवास, मनोज बिक र कुमार ठकुरी रहेका थिए ।
उनीहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा १ के.जी २२३ ग्राम बरामद गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका थिए ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरीतको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ म्याद थप गरी थप अनुसन्धान भइहेको डिएसपी हमालले बताएका थिए ।
डिएसपी हमालले उक्त मुद्दा अनुसन्धानकै क्रममा रहेको र काठमाडौंबाट रिपोर्ट आइनसकेको जानकारी दिएका थिए । तर बिहीवार नै सरकारी वकिलको कार्यालयमा प्रहरीले छिटोछिटो रिपोर्टसहितको राय पठाइसकेको हुँदा यसमा चलखेलको भएको आशंका गरिएको छ ।
कास्की प्रहरीले उक्त मुद्दालाई छिटो टुंगो लगाउने गरी सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको हुँदा चलखेल भएको प्रहरी स्रोतको भनाइ छ ।
मुद्दामा सेटिङ गर्न काठमाडौंबाट डीएसपी गोविन्द पुरीले प्रहरीको बिधि बिज्ञान प्रयोगशालाबाट छिटोछिटो प्रतिबेदन पठाउन लगाएर सहयोग गरेको आरोप छ । उनी विगतमा कास्की ट्राफिकको प्रमुखका रुपमा कार्यरत रहेकाले पनि लागूऔषध काण्डमा पक्राउ परेका आरोपीका आफन्तहरुले उनीमार्फत् चलखेल गरिरहेको स्रोतको दाबी छ ।