Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवन चिटिक्क पार्न मन्त्री श्रेष्ठको निर्देशन


    मंगलबार, कार्तिक १८ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । उनले संसद भवनको सरसफाई र सौन्दर्यता कायम गर्न कुनै कन्जुस्याई नगर्न निर्देशन दिएका छन् ।

      शहरी विकास मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्टिय सम्मेलन केन्द्र हालको व्यवस्थापिका संसद भवनको निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिएका छन् ।

     मन्त्रालय अन्तर्गत रहेको सो भवन २०६५ सालदेखि संसदले प्रयोग गर्दैआएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । 
     ‘माननीय सांसदज्युहरु बस्ने कुर्सीको अवस्था कस्तो छ ? बगैचामा फूल फुलेका छन् कि छैनन् ? हेर्नुस् नभए सिजन अनुसारको फुल फूलाउनुस्, हरियाली देखिएको छैन, त्यसलाई तुरुन्त हरियाली बनाउनुस्–भवन परिसरमा रहेको अवस्थाबारे निरीक्षण गर्दै उनले भने । उनले सांसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष समेत निरीक्षण गरेका थिए ।

     सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही केन्द्रमै संसद अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मत सम्हार गरी भवनलाई साँच्चिकै संसद भवनको रुपमा पहिचान गराउनुपर्ने कुरामा जोड दिएका छन् ।

     अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायीक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिएका छन् ।  

    उनले भने–हाल देखिएका केही समस्यालाई तत्काल समाधन गरी संसद चल्नुअघि भवनलाई दुरुस्त बनाउनु्स, आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।

     उनले भवनमा रङरोगन लगाउने, प्राविधिक पक्षलाई तत्काल समाधान गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।  केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १ सय ५३ क्षेत्रफलमा रहेको सो भवनभित्र ८ वटा हलमा करिब २ हजार क्षमता रहेको, करिब ४ सय सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थल रहेको जानकारी गराएका थिए ।

     उनले  साबिकको वानेश्वर ब्यारेकको नाममा रहेको जग्गाको स्वामित्व केन्द्रको नाममा ल्याउनुपर्ने, नीतिगत रुपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवा शर्त र आर्थिक नियमावली संसोधन गर्नुपर्ने लगायतका समस्या रहेको जानकारी गराएका थिए । उनले संसद अधिवेशन संचालन गर्न सबै व्यवस्थापन पक्ष केन्द्रले नै गर्दै आएको जानकारी गराएका छन् ।

     उनले अब आउने व्यवस्थापिका  संसदको अधिवेशन अगावै बगैंचाको सौन्दर्यीकरण गर्ने, मर्मत सम्हार गर्ने, साउण्ड लाइट लगायतका सबै सिष्टमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । केन्द्र अन्तर्गत हाल १ सय ८ कर्मचारी कार्यरत छन् ।

     मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको जिम्मेवारी क्षेत्रभित्र पर्ने सो केन्द्रलाई व्यवस्थित गर्न योजना बनाउन निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार