Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • २ लाख ५० हजार घुसकाण्डमा परेका नापीका हाकिमलाई अदालतले दिएन अन्तरिम आदेश, धनुषा सरुवा


    मंगलबार, माघ २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • ८ मिनेट पाठ
  • काठमाडौं । घुसकाण्डमा भागेर पक्राउ पर्नबाट जोगिएका ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहलाई धनुषा काजसरुवा गरिएको छ । उनलाई गएको असोजमा पनि धनुषामा सरुवा गरिएको थियो । तर उनले निजामती कर्मचारी हुँ भन्ने बिर्सेर अनुशासनहीन ढंगले उच्च अदालत पाटनमा रिट दायर गरी भीमार्जुन आचार्यजस्ता बरिष्ठ कानुन ब्यवसायीलाई ठूलो रकम खर्च गरी वकिल राखेर अन्तरिम आदेश लिएर खटाएको ठाउँमा नगई बसेका थिए । साहले ललितपुर नापीका कर्मचारीहरुलाई दैनिक ५० हजार घुस आफूलाई बुझाउन, अन्यथा जागिरबाटै हात धुनुपर्ने धम्की दिंदै आतंकित बनाउँदैआएका थिए ।

    साहको काजसरुवापछि कर्मचारीहरुले राहत महसुस गरेका छन् । गएको माघ ९ गते २ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादव पक्राउ गरेपछि भूमिब्यवस्था मन्त्रालयले उनलाई काजसरुवा गरेको हो । २०८० माघ १८ गते उनको रमाना गरेपछि उनी सचिव गोकर्णमणि दुवाडीका बिरुद्ध बिषबमन गर्दै हिंडेका छन् । उनले ललितपुर नापीमा प्रक्रिया मिलेका काममा पनि सेवाग्राहीलाई दुःख दिएर घुस असुली गरेको, सरकारी जग्गा दर्ता गरेको बिषयमा अख्तियारमा धेरै गुनासा र उजुरी परेका थिए । अख्तियारले ललितपुर नापी कार्यालयलाई निगरानीमा राखेको थियो ।

    गएको माघ ९ गते २ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादव पक्राउ परे । अख्तियारले नापी कार्यालय ललितपुरका प्रमुख उमेशकुमार साहले नै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टोली खटाएको थियो । तर अख्तियारको टोली पुगेपछि कार्यालय प्रमुख मास्क लगाएर भागेका थिए ।

    भूमिब्यवस्था मन्त्री र सचिवलाई बुझाउनुपर्छ भनेर साहले नापी कार्यालयका कर्मचारीलाई जनही दररेट तोकेर घुस बुझाउन दबाब दिएपछि कर्मचारी आतंकित थिए । अति सर्बत्र बर्जयेत भनेझैं अख्तियारले २ लाख ५० हजार घुस लेनदेनमा उनलाई नै पक्राउ गर्न खोजे पनि कार्यालय सहयोगी सावित्री बलमे अख्तियारको टोली आएको सूचना दिएपछि उनी हतार हतार भागेर रंगेहात पक्राउ पर्नबाट जोगिएका थिए ।

    भ्रष्टाचारमा मुछिएका र सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको भनी अख्तियारमा किटानी उजुरी परेका नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख उमेशकुमार साहलाई गएको असोजमा धनुषा सरुवा गरिएको थियो । धनुषामा हाजिर हुन जानुको साटो रिट दायर गरी वकिललाई ठूलो रकम खर्चेर अन्तरिम आदेश ल्याएका उनको उक्त आदेश १ महिनाअघि नै खारेज भइसकेको छ ।

    २ लाख ५० हजार घुस प्रकरणमा भूमिब्यवस्था मन्त्रालयले उनको फेरि धनुषामै काजसरुवा गरेपछि उनी फेरि उच्च अदालतमा रिट दायर गर्न पुगेका थिए । तर अदालतले उनको रिटमा अन्तरिम आदेश दिन मानेन । उनी प्रमुख रहेको ललितपुर नापी कार्यालयमा २ लाख ५०हजार घुस सहित कर्मचारी पक्राउ परेको र उनी अख्तियारबाट जोगिएर भागेकै कारण उनको पक्षमा अन्तरिम आदेश आएन ।

    अन्तरिम आदेश आफ्नो पक्षमा नआएपछि ललितपुर नापी कार्यालयमा सरुवा भएका रमेशकुमार ज्ञवालीलाई हाजिर हुन नदिन गुण्डागर्दी गर्ने योजनामा उनी थिए । उनको योजना थाहा पाएपछि भूमिब्यवस्था मन्त्रालयले उनलाई काम छ भनेर बोलाएर ज्ञवालीलाई हाजिर गराई उनलाई रमाना दिइसकेको छ । रमाना बुझिसकेपछि हाजिर हुनुको साटो उनी नयाँ कार्यालय प्रमुख ज्ञवालीको जागिर खाइदिने भनेर मिडियाबाजी गर्न तल्लीन छन् । ज्ञवालीको गएको असोजमै ललितपुरमा सरुवा भए पनि साहको अनुशासनहीनताका कारण हाजिर हुन पाएका थिएनन् । नापीमा साबिर हुसेन भन्दा पनि विवादित उमेशकुमारले एक बर्षको बीचमा ललितपुर नापीमा अनियमिततामा कीर्तिमान नै कायम गरेका छन् ।

    साहका बिरुद्ध सरकारी जग्गा आफ््नो नाममा दर्ता गर्ने र कार्यालयमा सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिने गरेको गम्भीर उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
    कार्यालय प्रमुख साहले सरकारी जग्गा दर्ता गरेको प्रमाणसहितको कित्ता नम्बर समेत उल्लेख भएको उजुरी अख्तियारमा छ ।

    कार्यालय प्रमुख साहले ललितपुरको नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा आर्थिक प्रलोभनमा ब्यक्तिको नाममा हालसाविक(अद्यावधिक) गरेका छन् ।

    साविक भैंसेपाटी गा.वि.स. वडा नं. ६ ‘क’ कि.न. ४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं। ४ कि.न. १३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुखसाहले आर्थिक लाभ लिई ब्यक्तिको नाममा हालसाविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

    नापी कार्यालय ललितपुरका प्रमुख साहले ब्यापक भ्रष्टाचार गरी अकूत सम्पत्ति आफ्नो नाममा, श्रीमती तथा आफन्तका नाममा साथै साथीको नाममा काठमाडौं उपत्यका लगायतका ठाउँमा जग्गा जोडेको उजुरीमा उल्लेख छ ।

    अख्तियारमा २०८० असोज २ गते परेको सी–०१७७८४ दर्ता नम्बरको उजुरीमा उनीमाथि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ । उनले २५ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएकाले उक्त सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

    उजुरीमा उल्लेख छ– नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख साहले ललितपुरको धापाखेल ८ ‘ख’ कि.न. २७५८, २७६३ समेत गरी ३ वटा प्लट९०–१२–०–०० ४–४ आनाको जग्गा २ वटा आफ्नो नाममा किनेको र एक कित्ता साथीको नाममा किनेको सो जग्गा प्रतिआना २२ लाख रुपैयाँका दरले २ करोड ६४ लाखमा किनेका हुन् ।

    उक्त जग्गा आफ्नो नाममा खरिद गर्दा साहले अर्को नापी अधिकृतले थाहा पाउँछ भनेर आफैं प्रमाणित गरेका थिए । यसरी साहले आफ्नो नामको लिखत आफैं प्रमाणित गरेका छन् । आफ्नो नामको लिखतमा आफैं हस्ताक्षर गर्न मिल्दैन ।

    यसरी आफ््नो जग्गा आफैं प्रमाणित गरेको बिषयमा अख्तियारमा उजुरी परेको थाहा पाएपछि उनले गएको असोज ६ गते सार्वजनिक बिदाका दिनमा पनि कार्यालयमा दिनभर बसेर उक्त कागजात गायब पारेका थिए । सरकारी जग्गा लाखौं घुस लिएर ब्यक्तिको नाममा गरेको बिषयमा पनि प्रमाण मेटाउन उनी शनिबार दिनभर तल्लीन थिए । उनी असोज ६ गते साँझसम्म प्रमाण मेटाउन कार्यालयमै थिए ।

    यसरी ब्यापक रुपमा नापी कार्यालय ललितपुरमा आर्थिक रुपमा घुस उठाउने गिरोह नै साहले चलाएका छन् । एउटा कित्ताकाट गर्दा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस असुल्ने गरिएको छ । कित्ताकाटमा घुस असुली गर्ने कार्य लेखापढी ब्यवसायीमार्फत् गर्ने गरिएको छ । यसरी सरकारी जग्गाको रक्षा गर्नुपर्ने जिम्मा पाएका कार्यालय प्रमुख साह नै भक्षक बनेका छन् ।

    यसअघि साहले नेपाल–भारत सीमानामा नापनक्साको काम गर्दा गाडी, इन्धन, चेनमेन(लेबर) को फर्जी बिल बनाएको, अछाम, अर्घाखाँची नापीमा काम गर्दा चेनमेन(लेबर) तथा सामान बिल फर्जी गरेको, फिल्डमै गएर नक्सा नाप्नुपर्नेमा फिल्डमा नगई पुरानो ९साविक० नक्सालाई ट्रेस गरी फर्जी बिल भर्पाई बनाई दसौं लाख रुपैयाँ अनियमितता गरेको बिषयमा समेत छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

    यस्तो अनियमितता गरी कमाएको सम्पत्तिबाट मनोहरा जग्गा एकीकरण आयोजना भक्तपुर लोकन्थलीमा उनले साढे ३ तला घर ६ आना क्षेत्रफलमा बनाएर बसेका छन् । उक्त घरको हालको न्यूनतम मूल्य ५ करोडभन्दा बढी पर्न आउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार