काठमाडौँ । तिहारको पूर्वसन्ध्यामा पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको हो । स्वयम्भुस्थित साइँली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादव पक्राउ परेका हुन् । जुवाखालबाट उनीसहित १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।
२०५१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सर्लाहीबाट सांसद निर्वाचित भएका रायले त्यतिबेला पनि पदकै खिल्ली उडाउने काम गरेका थिए । डिस्कोमा युवतीसँग मदिराले मस्त भएर नाच्नेदेखि विभिन्न काण्डमा उनको नाम आउने गरेको थियो । २०५१ को संसदमा सरकार ढाल्ने र टिकाउनका लागि प्रयोग हुने पात्रमध्ये खोभारी राय मुख्य हुन् ।
त्यतिबेला उनी खोभारी प्रवृत्तिकै रुपमा उनी बदनाम भएका थिए । त्यतिबेला मन्त्री नियुक्त भएपछि घरको छतबाट बन्दुक पड्काउनेदेखि बैंशाली होटलमा सांसद थुन्ने घटनासम्ममा उनको नाम आउने गर्दथ्यो । शेरबहादुर देउवा, लोकेन्द्र बहादुर चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।