डोटी । सरकारले किसानलाई धान पाक्ने बेलासम्म त मल उपलब्ध गराउन सकेन नै । तर धान काटेर गहुँ छर्ने बेलामा पनि किसानले मल नपाउने भएका छन् । गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । किसानले भारतबाट भन्सारछली गरी ल्याएको मल कालोबजारीमा खरिद गरी धानखेती त जसोतसो भित्र्याइरहेका छन् । तर गहुँ छर्ने बेलासम्म पनि सरकारले मल ल्याउन सक्ने संकेत देखिएको छैन । गहुँ छर्ने बेलामा पनि मल नआउने देखिएपछि सुदूरपश्चिम प्रदेशका किसानहरु चिन्तित छन् ।
दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको जनाए ।
सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कूल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भएपनि आपुर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जनाउनुभयो ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले ती कुनै पनि जिल्लामा मल पुगेको जानकारी नआएको बताए ।
डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपुर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।