आज आश्विन शुक्ल द्वादशी, आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैंघर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।
यसवर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दसैं मनाइँदैछ ।
कोरोनाकै कारण यसवर्ष दसैँ मनाउन राजधानी बाहिर जानेको भीड पनि कम भएको पाइएको छ । सडकमा विगत वर्षका जति सवारी गुडेनन् ।
नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।