काठमाडौं । प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन्।
झापाको मेचिनगर १२ का ३८ वर्षीय नरेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।
मेचेले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिलकुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए।
हतियार देखाएर अग्रवाललाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाई नै गोली हानेर भागेका भएका थिए। उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए। उनीविरुद्ध अपहरण तथा ज्यान मुद्दामा जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।