Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आजदेखि प्रधानमन्त्री प्रचण्ड १० बजे नै सिंहदरबार पुग्ने


    मंगलबार, पुष ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने भएका छन् । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका उनको सचिवालयले जनाएको छ ।

    राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । ‘त्यो योजना अनुसार आज बिहान १० बजे नै उहाँ कार्यालयमा आइसक्नु भएको छ,’ शर्माले भने ।

    सरकारका काम जनताको अपेक्षा अनुसार हुन नसकेको भनेर आत्मसमीक्षा गरेका प्रधानमन्त्री प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने घोषणा गरेका थिए । ललितपुर महानगरपालिकाको १०५ औं वाषिर्क उत्सव समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।

    प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार मुख्य सचिव र सचिवहरुलाई आफू भोलिदेखि १० बजे नै कार्यालय आउने जानकारी गराउँदै अन्य कर्मचारीहरुलाई पनि समयमै कार्यालयमा उपस्थित भएर कामकाज गराउन पनि भनेका थिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै कार्यालयमा आएको बताए । ‘उहाँ कार्यभार सम्हालेदेखि नै भ्याली बाहिर जाँदा बाहेक प्राय हरेक दिन चाँडै नै कार्यालयमा आउनुहुन्थ्यो, आज त १० बजे नै आउनु भएको छ,’ प्रवक्ता भट्टले भने, ‘अबदेखि सधैं १० बजे नै कार्यालय आउने भन्ने सुनेको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार