Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जमुनाहा नाकाः भन्सार प्रमुख र सुरक्षाकर्मीको मिलेमतोमा खुलेआम भन्सार छली र तस्करी 


    शनिबार, कार्तिक १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चाडपर्व नजिकिएपछि बाँकेको जमुनाह नाकाबाट भन्सार छली बढेको छ । भन्सार कार्यालय र सुरक्षाकर्मीसँग सेटिङ मिलाएर भन्सार छली र तस्करी बढेको हो । महंगा सामानलाई सस्तो सामान भनी भन्सार पास गराएर भन्सार छली हुने गरेको पटक–पटक पुष्टि भइसकेको छ । 
    भन्सार कर्मचारीकै मिलेमतोमा पास भएको ट्रक गत २७ असोजमा पक्राउ परेपछि यसबारे थप प्रष्ट भएको छ ।

    यूपी ४० टी १८२६ नम्बरको ट्रकलाई नेपालगञ्ज उपमहानगरपालिका–४ न्यूरोडमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । चुरा ल्याएको भन्दै सो ट्रक भन्सारबाट पास भएको थियो । तर, प्रहरीले खानतलासी गर्दा लत्ताकपडा, फेन्सी तथा महंगा कस्मेटिक सामानहरु बरामद भएको थियो । भन्सार दलाल तथा व्यापारी पप्पु साहले सो ट्रकको भन्सारमा सेटिङ मिलाएका थिए । जमुनाहबाट नेपालगञ्जसम्म पाँच ठाउँमा चेकपोष्ट भएपछि सबैतिर सेटिङ मिलाएर ट्रक पास भएको थियो ।

    प्रहरीले सो ट्रक राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । भन्सार छलीमा मिलेमतो देखिए आफुहरुमाथि समेत मुद्दा चल्नसक्ने भएकाले भन्सार कर्मचारीहरु यतीबेला राजस्वमा मिलाउन लागिपरेका छन् । नेपाल प्रहरीसँग सेटिङ नभएकाले ट्रक समातिएको स्रोत बताउँछ ।

    हरेक दिन जसरी यसरी गलत मूल्याङकन गरी भन्सार नाकाबाट तस्करी भइरहेको छ । जसमा भन्सार प्रमुख शान्तिराम निरौला तथा भन्सार अधिकृत टोपबहादुर भूसालको मिलेमतो रहेको स्रोत बताउँछ । सशस्त्र प्रहरीसँग पनि तस्करहरुले सेटिङ मिलाएका छन् ।  

    त्यस्तै गुलरिया नाकाबाट मिलेमतोमै प्याज र सूर्तीजन्य पदार्थको तस्करी पनि बढेको छ । नेपालबाट भने बंगलादेशी केराउ भारत तस्करी हुने गरेको छ । दशैं सुरु भएपछि तस्कर समूहहरु झन् सक्रिय भएका छन् ।

    नेपाल–भारत सीमा बन्द भएपनि नेपालगञ्जमा भारतीय बजारमा किनमेलमा जानका लागि छुट दिइएको छ । जसकारण पोके तस्करी पनि बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार