Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • हमासले नेपाली बन्धकलाई घाइते अवस्थामा अस्पताल लगेको भिडिओ सार्वजनिक


    सोमबार, मंसिर ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लागेको एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।

    आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।

    उक्त भिडिओमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ।

    आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।

    उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।

    द न्युयोर्क टाइम्सले उक्त दृश्य गजाको अल-सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।

    गाजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।

    सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

    हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इसराइलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ।

    आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ।

    आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ।

    https://twitter.com/i/status/1726319791865016493

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार