Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १० नेपालीको नृशंस हत्याः बाबुराम–हिसिलालाई किन दुखेन ?


    शनिबार, कार्तिक ४ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • माधव पौडेल

    इजरायलविरुद्ध प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको हमलामा १० नेपालीको हत्या भएपछि नेपाल सरकारले त्यसलाई आतकंवादी आक्रमण भन्दै निन्दा गरेको छ ।

    नेपालमात्र होइन, विश्वका(इरान, कतार र पाकिस्तान बाहेक) सबै राष्ट्रले हमासको हमलालाई आतंकवादी आक्रमण भन्दै निन्दा र भत्र्सना गरेका छन् । तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ती १० नेपालीको नृशंस हत्या गर्ने प्यालेष्टाइनकै पक्षमा शुक्रबार इजरायली दूताबासअगाडि श्रीमती हिसिला यमीसहित १५–२० जनाको समूहसहित प्रदर्शन गरेका छन् ।

    प्यालेष्टाइनसँग ७५ बर्ष पुरानो र गहिरो मित्रता रहेको भारतले समेत इजरायललाई आश्चर्यजनक रुपमा साथ दिइरहेको छ । इजरायल स्वतन्त्र हुँदा भारतभन्दा पहिला नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार गरेका थिए । वीपी कोइरालाले लगाएको गुनको बीउबाट आज हजारौं नेपाली इजरायलमा सम्मानजनक रोजगारीमा छन् । उच्चतम आय गरिरहेका छन् । तर नेपालकै पूर्व प्रधानमन्त्री डा. भट्टराई सपत्नी एक दर्जन मुस्लिम कार्यकर्ता लिएर इजरायल दूताबासमा प्रदर्शनका नाममा फोटो सेसन गरेको सामाजिक संजालमा पोष्ट गरेका छन् ।

    नेपाल सरकारले १० नेपाली नागरिकको क्रुरहत्या गर्ने कार्यलाई आतंककारी आक्रमण भनिसकेको अवस्थामा नेपालका पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्यालेष्टाइनको समर्थनमा दूताबास अगाडि प्रदर्शन गर्दा ती मृतक नेपालीका परिवार र आफन्तलाई कस्तो महसुस भएको होला ? डा.भट्टराईले ती आफन्त गुमाएका र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्ने र बर्बर हत्याको बिरोध गर्नुपर्नेमा उल्टै प्यालेष्टाइन आतंककारी समूह हमासको पक्षमा प्रदर्शन गरेर उनीहरुको घाउमा नूनचूक दल्ने काम गरेका छन् ।

    डा. बाबुरामले हमासको आतंककारी आक्रमणबाट ज्यान गुमाएका १० नेपाली नागरिक र तिनका शोकसन्तप्त परिवारजनले के सोच्लान् भन्ने समेत ख्याल राख्न नसकेको देखियो । डा. भट्टराईले प्यालेष्टाइनको समर्थन र इजरायलको बिरोध गर्नुअघि कृषि फर्ममा काम गर्न गएका र नृशंस हत्या गरिएका ती निर्दोष १० नेपालीको के दोष थियो भन्ने हेक्का समेत राख्न सकेको देखिएन ? धेरै नेपाली विद्यार्थी रोजगारी र अध्ययनको सिलसिलामा इजरायलमा पुगेका छन् ।

    इजरायलको गाँजापट्टि सिमानामा पर्ने किजुल अलुमिनमाको कृषि फार्ममा १६ नेपाली कार्यरत थिए । ७ अक्टुबरका दिन उक्त कृषि फार्ममा कार्यरत नेपालीलाई प्यालेष्टाइनी बिद्रोही समूह हमासले कब्जामा लिएका थिए । नेपालीहरुले हमासका कार्यकर्ताहरुसामु ‘हामी नेपाली हौं, यहुदी होइनौं, हाम्रो लडाइँ कुनै कसैसँग नभएको, रोजगारीका लागिमात्र आएको’ भन्दै प्राणरक्षाका लागि याचना गरे । तर आतंककारी गतिबिधिमा संलग्न हमासका कार्यकर्ताहरुले दया देखाएनन् ।

    घटनास्थलमा १५ नेपालीलाई हमासका कार्यकर्ताले गोली प्रहार गर्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक नेपालीलाई हमासले बन्धक बनाई लिएर गए । गोली लागेर पनि मृत्यु हुनबाट जोगिएका ४ जनामध्ये २ जना उपचार गरी नेपाल फर्किसकेका छन् । २ जना अझै इजरायलका अस्पतालमा उपचाररत छन् । बन्धक बनाई लगेका कन्चनपुर, महेन्द्रनगरका विपिन जोशीको हालसम्म कुनै खोजखबर छैन ।

    इजरायली दूताबासमा प्रदर्शन गरेर नेपालका मन्त्री र प्रधानमन्त्री भइसकेका डा. भट्टराई दम्पत्तिले नेपाल र नेपालीको संवेदनशीलतासँग खेलवाड गरेको महसुस इजरायलमा आतंकवादी समूह हमासद्वारा नृशंसतापूर्वक मारिएका, अपहरणमा परेका र गोली लागेर घाइते भएका नेपालीका परिवारले गरेका छन् ।

    इजरायलमा रहेका नेपालीको चिन्ता

    इजरायलका विभिन्न सहरमा करिब २० हजार नेपाली भएको अनुमान छ । इजरायलमा नेपाली केयरगिभर, कृषि मजदुर र पर्यटन क्षेत्रमा कार्यरत छन् । हालसालै इजरायल गएका नेपाली प्यालेष्टाइनी बिद्रोही समूह हमासको आतंककारी आक्रमणबाट भयभीत भई नेपाल फर्के पनि अधिकांश नेपाली इजरायलमै रहेका छन् । इजरायल सरकारले नेपालीहरुको सुरक्षामा कुनै प्रकारको भेदभाव गरेको छैन । तर १० नेपालीको नरसंहार गरेको घटनालाई चटक्कै बिर्सेर पूर्वप्रधानमन्त्री भट्टराईले प्यालेष्टाइनी आतंककारी समूह हमासको पक्षमा प्रदर्शन गर्दा इजरायलमा रहेका हजारौं  नेपाली चिन्तामा परेका छन् ।

    १० बर्षे माओवादी सशस्त्र द्वन्द्वमा १७ हजारको हत्या भएको र त्यसको जिम्मा आफूले लिन नसक्ने भन्दै डा. बाबुराम भट्टराईले पार्टी छाडेका थिए । १७ हजारको हत्याको जिम्मा लिन नसक्ने भनेर माओवादीबाट बाहिरिएका डा. भट्टराईले १० जना नेपालीको नृशंस हत्या गर्ने प्यालेष्टाइनीको पक्षमा प्रदर्शन गर्न जानुले उनमा अझै पनि युद्धको धङधङ्गी बाँकी नै रहेको देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार