Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने भएपछि नेपालगञ्जमा कर्फ्यु


    मंगलबार, असोज १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

    हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।
    बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।

    नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार