Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • करिब १ सय किलो सुन काण्डको अनुसन्धान जिम्मा ‘सिआईबी’लाई 


    शुक्रबार, साउन १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन काण्डको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । हिजो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो ।

    छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी थिए । सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

    छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए । सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।

    ‘सङ्गठित अपराधको तत्त्व देखिएको हुनाले सो मुद्दाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने कुरा भएको छ’ छलफलमा सहभागी एकजना उच्च अधिकारीले भने–‘त्यसबारे राजस्वले ब्युरोलाई लेखेर पठाउने कुरा भएको छ ।’

    हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ । ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।

    उक्त प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार