Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ


    सोमबार, साउन ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सवारीसाधनको लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाल छन् ।

    परियारलाई गएको शनिबार ललितपुरबाट पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

    पक्राउ पर्ने रिसाल भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक हुन् । उनलाई हिजो काठमाडौंकै कालीमाटीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार परियारले १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएका थिए । त्यसरी उनले नगद र सुनको गहना (औँठी) समेत लिई चार लाख ३० हजार रुपैयाँबराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।

    त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए । ठगी गरिएको सुन किनेर उनले गालेका थिए । गालेर ढिक्का बनाइराखेको सुन ११.६८० ग्रामसहित उनलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

    उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार