Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् एक क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ पर्नेहरु


    बिहिबार, साउन ४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर काठमाडौँको सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको अहिले खोजी जारी छ ।

    एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

    उक्त सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन ।

    आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ । भन्सार जाँचपास भएर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    यस ठूलो परिमाणको सुन भन्सारबाट सहजै छुटेको विषयमा पनि जाँचपासमा संलग्न कर्मचारीमाथि अनुसन्धान सुरू भएको भन्सार विभाग स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार