Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गर्भपतन गराएकी महिलाको मृत्यु


    आइतबार, असार ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको ज्यान गएको छ ।

    झापाको दमक नगरपालिका–४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आज बिहान मृत्यु भएको हो । कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए । अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

    मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ ।

    ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो । त्यसलाई रोक्न र गर्भभित्रको बच्चा निकाल्न शल्यक्रिया गरियो,’ डा. साहले भने, ‘तर, रक्तश्राव रोकिएन । बिरामीको स्वास्थ्य अवस्था झन् खराब हुँदै गएपछि थप उपचारका लागि रेफर गरियो ।’

    परिवारका सदस्यले थप उपचारका लागि शनिबार राति १२ बजेतिर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उपचारकै क्रममा आइतबार बिहान ३:४० बजेतिर महिलाको मृत्यु भएको जनाइएको छ ।

    डा. साहका अनुसार अस्पताल भर्ना हुनुअघि गर्भपतनका लागि कुनै औषधि सेवन गराएका कारण रक्तश्राव भएको हुनसक्छ । ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भएर बिरामीको अवस्था गम्भीर थियो,’ उनले भने, ‘गर्भपतन गराउनका लागि बाहिरै कुनै औषधि सेवन गराएकाले त्यस्तो अवस्था आएको हुनसक्ने अनुमान गरिएको छ ।’ बच्चा बाहिर निकाल्न एवं रक्तश्राव रोक्न गरिएको शल्यक्रिया सफल नभएको र रगत झन् धेरै बगेपछि थप उपचारका लागि अन्यत्र रेफर गर्नु परेको उनको भनाइ छ । महिलाको २२ देखि २४ हप्ताको गर्भ रहेको हुनसक्ने उनले बताए ।

    यसैबीच, परिवार र आफन्तले महिलाको शव मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरअगाडि लगेर राखेका छन् । चिकित्सकको लापरबाहीले घटना भएको भन्दै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका हुन् । माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

    अस्पतालमा आन्दोलन सुरु भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार