Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भूटानी शरणार्थी प्रकरणः हज समितिको गाडी दुरुपयोग गर्न दिन मियाँ को हुन् ?


    मंगलबार, जेष्ठ २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा गृहमन्त्रालयकै गाडी समेत दुरुपयोग भएको खुलेको छ । हज समितिका अध्यक्ष शमशेर मियाँले प्रयोग गर्दैआएको गाडी नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न केशवप्रसाद दुलाल र सानु भण्डारीको प्रयोग गरेको खुलेको छ । उक्त गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पीडितहरुलाई विश्वास दिलाउन ठगी गिरोहका सदस्यहरुले गृहमन्त्रालयको उक्त गाडी दुरुपयोग गर्दैआएका थिए । पीडितहरुको बायोमेट्रिक गराउनका लागि जाँदा पनि उनीहरु उक्त गाडी नै लिएर गएको खुलेको छ । हजसमितिको गाडी नियन्त्रणमा लिएपछि अध्यक्ष समशेर मियाँ सम्पर्कबिहीन भएका छन् ।

    तस्करीको दुनियाँबाट हज समितिको अध्यक्षसम्म ?

    मियाँ बुटवलका हुन् । उनी भैरहवा र कृष्णनगर भन्सारमा सेटिङ गरी भारतबाट नेपालमा सामान तस्करी गराउनेमा अग्रपंक्तिमा पर्दछन् । भन्सारछली तस्करीमा उनी बदनाम मानिन्छन् । उनको सेटिङ यति बलियो छ कि सामान बोकेका गाडीहरु भन्सारबाट विना पास निस्कने गर्दछन् । कपडा, मोटर पार्टस् जस्ता सामान उनले भन्सार प्रज्ञापनपत्रबाट होइन, सिधै भन्सार पार गराउने गर्दछन् । भारतबाट ठेलामा सीमासम्म ल्याउने र त्यहाँबाट भन्सार अगाडिकै पार्किङ क्षेत्रमा गाडीमा लोड गरी विनाप्रज्ञापनपत्र नेपालको भन्सारकै अगाडिबाट पार गराउने गर्दैआएका छन् ।

    उनी नेकपा माओवादीका तर्फबाट २०७३ को स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. ५ को वडाध्यक्षका उम्मेदवार भई पराजीत भएका थिए ।

    कृष्णनगर र भैरहवा भन्सारबाट तस्करी गरी राजस्व मारेर अकूत कमाएका समशेर मियाँले करोड भन्दा बढी खर्चेर हज कमिटीको अध्यक्षमा नियुक्त भएको भनी पूर्व माओवादी केन्द्रकै मुस्लिमहरुबीच विवाद भएको थियो । मन्त्रिपरिषदले मात्र हज कमिटीको अध्यक्ष नियुक्त गर्ने प्रचलन तोडी गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्त गरेका थिए । उनलाई नियुक्त गर्न केही माओवादीका नेताहरु नै लागेका थिए । हज कमिटीमा तस्करलाई नियुक्त गरिएकोमा गृहमन्त्री थापा आलोचित समेत भएका थिए । समशेर मियाँ मुस्लिम आयोगको सदस्य सचिव हुँदा उनको अभद्र ब्यवहार सहन गर्न नसकी आयोगकै एक महिला सदस्यले उनलाई आयोगकै कार्यकक्षमा जुत्तैजुत्ताले प्रहार गरेकी थिइन् ।

    हज कमिटीको अध्यक्ष भइसकेपछि पनि मियाँले १२ सय हजयात्रीको टाउकोमा ठूलो रकम भार पार्न घरभाडादेखि हवाई टिकटसम्ममा कमिसन खाएको आरोप लागेको थियो । उनले हिना ट्राभल्ससँगको सेटिङमा हवाई टिकटमा करोडौं अनियमितता गरेका थिए । मियाँले साउदी अरबमा घरभाडामा समेत करोडौं कमिसनको डिल गरेको आरोप लागेको थियो ।

    हज कमिटीलाई साउदी अरबको मक्का मदिनामा हजयात्रीहरुलाई लैजाने ब्यवस्थापनका लागि बार्षिक २ करोड रुपैयाँ दिने गर्दछन् । मक्कामदिनामा जानका लागि हवाई टिकटदेखि त्यहाँ ४५ दिन बस्दाको घरभाडा समेत हजयात्रीले नै तिर्नुपर्छ । हज कमिटीका अध्यक्ष समशेर मियाँले हजयात्रीलाई अतिरिक्त भार थोपरेकोमा उनीमाथि छानबिन गर्न अख्तियारमा समेत उजुरी परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार