Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको दाबी- अर्थतन्त्रमा समस्या छ तर आर्थिक वृद्धि हासिल गर्न सरकार सक्रिय छ


    आइतबार, बैशाख २४ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सक्रियताका साथ लागि परिरहेको बताएका छन् । विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको पनि उनले बताए ।

    नेपाल बिजनेस समिटलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि शोधानान्तर घाटामा उल्लेख्य सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको र विप्रेषणमा उत्साहजनक वृद्धि भएको बताए ।

    अन्य विकसित एवं विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजूद नेपालको समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत् आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ,’ सम्मेलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन् ।’

    राष्ट्रिय उत्पादन वृद्धि गर्ने, रेमिट्यान्सलाई व्यवस्थित बनाउने तथा स्वावलम्बी अर्थनीति अवलम्बन गर्ने कार्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय रहेमा आर्थिक धरातल बलियो बन्ने धारणा पनि उनले राखे ।

    नेपालको अर्थतन्त्रप्रति आमरूपमा चिन्ता र चासो बढेको भन्दै उनले नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु अहिलेको प्रमुख आवश्यकता हुन आएको बताए ।

    आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा आयोजित बिजनेस समिटबाट आर्थिक सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको विषयमा नीतिगत सुझावहरू सरकारले पाउने र आगामी मार्ग तय गर्न सहयोग पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार