Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्छ : नेता सिंह


    मंगलबार, भाद्र १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री  मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापन कार्यक्रममा उहाँले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । 

    नेता सिंहले स्व सिंह नेपाली महिलाको  अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला  भएको उल्लेख गर्नुभयो । पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो । केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उहाँले भन्नुभयो । 

    केन्द्रीय सदस्य एवम् गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले महिला समानता, सामाजिक न्याय र राजनीतिक अधिकार निर्माणमा  सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । केन्द्रीय सदस्य कमला पन्तले संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भए पनि महिलाले केही अधिकार स्थापित गर्न नसकेको उल्लेख गर्नुभयो । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सके मात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”,उहाँले भन्नुभयो । केन्द्रीय सदस्य पुष्पा भुसालले  सिंह काँग्रेसको मात्र नेता नभई नेपाली सबै महिलाको नेता भएको उल्लेख गर्नुभयो । पार्टीका पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ, मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले महिलाका कारण  काँग्रेस बलियो भएको बताउँदै नेतृत्व तहमै महिलालाई ३३ प्रतिशत अधिकार दिनुपर्नेमा जोड दिनुभएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार