बुटवल । इलाका प्रहरी कार्यालय बुटवल ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गरिएको परीक्षणमा ती संक्रमित भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जवानदेखि जुनियर अधिकृतसम्म २४ जनाको स्वाब संकलन गरिएको बताए । तीमध्ये १९ जनाको परीक्षण भैसक्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो। स्वाब संकलन गरिएका ५ जनाको रिपोर्ट आउन बाँकी छ।
इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी छन्। तीमध्ये पहिलो चरणमा संक्रमितको सिधै सम्पर्कमा रहेका, लक्षण देखिएका र तल्लो तहका प्रहरी कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिने राठौरले बताए।
कोरोना नियन्त्रण अभियानसँगै दैनिक सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा पुग्नु पर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्नुपर्ने भएकोले सुरक्षाकर्मी कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन्।