काठमाडौं । अदालतको अवहेलना गरेको मुद्दामा भारतको सर्वोच्च अदालतले चर्चित वकिल प्रशान्त भूषण दोषी ठहर गरेको छ । भुषणलाई सजाय स्वरुप एक रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरिएको छ ।
न्यायाधीश अरुण मिश्रा, बीआर गाभाई र कृष्ण मुरारीको बेञ्चले प्रशान्त भूषणको दुई ट्वीटले अदालतको अवहेलना गरेको ठहर गरेको हो ।
न्यायालयका भूषणले ट्वीटमार्फत प्रधानन्यायाधीश र सर्वोच्च अदालतको आलोचना गरेका थिए । उनले अदालतमा यस विषयमा माफी माग्न पनि अस्वीकार गरेका थिए । उनले सर्वोच्च अदालतले आफ्नो आलोचना स्वीकार गर्नुपर्ने बताएका थिए ।
अदालतमा फैसला बाँकी रहेको विषयमा प्रशान्त भूषणले दिएको अभिव्यक्ति अदालतको कारबाहीलाई प्रभावित गर्ने किसिमको रहेको फैसलामा उल्लेख छ ।
उनले आगामी सेप्टेम्बर १५ सम्ममा जरिवाना तिर्न अस्वीकार गरेमा उनलाई तीन महिनाको जेल सजाय अथवा तीन वर्षसम्म कानुनी वकालतको लागि प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
अदालतले सन् २०१८ मा गरिएको चार न्यायाधीशको पत्रकार सम्मेलन पनि गलत रहेको बताएको छ । न्यायाधीशसँग पत्रकार सम्मेलनको अपेक्षा नहुने पनि अदालतले स्पष्ट पारेको छ । सर्वोच्चले अभिव्यक्तिको स्वतन्त्रता भए पनि दोस्रो पक्षको अधिकारको पनि सम्मान गर्नुपर्ने जनाएको छ। एजेन्सीको सहयोगमा