Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ‘गयल’ हुँदा चल्यो यस्तो चर्चा !


    सोमबार, भाद्र १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा पछिल्लो समय चर्चित बनेका छन् । केहीदिन अघि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नियुक्तिमा ‘मजाक गरेर’ उनी सामाजिक सञ्जालमा ‘चर्चित’ बने। आइतबार साँझ देखि भने उनी मन्त्रिपरिषद् बैठकमा ‘गयल’ भएर चर्चाको केन्द्रमा छाएका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडा उपस्थित थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको देब्रेपट्टि तेस्रो कुर्सीमा बस्ने गरेका खतिवडा कुर्सी रित्तै देखेपछि बैठकमै गाइँगुइँ चलेको थियो।

    सरकारका प्रवक्ता समेत रहेकाको अनुपस्थितिमा बालुवाटार वृत्तमा र मन्त्रीहरुमा दुई फरक चर्चा चलेको थाहा भएको छ। बालुवाटारमा भने अर्थमन्त्री बैठकमा नहुनुको कारण उनको सांसद बनिसक्नु पर्ने मिति सकिन लागेकाले भन्ने रहेको स्रोतले बताएको छ । 

    खतिवडालाई मन्त्री पद जोगाउन भदौ १९ अगाडि नै राष्ट्रिय सभा सदस्य बनिसक्नुपर्ने बाध्यता छ ।  गत फागुन २० मा खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे पदावधि सकिएको थियो । सोही दिन खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पदबाट राजीनामा दिए । तर त्यसको भोलिपल्ट उनी फेरि दुबै मन्त्रालयको जिम्मेवारी सहित मन्त्री पदमा नियुक्त भएका थिए । 

    संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ । साथै मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान पनि रहेको छ । अहिले उनको मन्त्री पदको आयु लगभग सकिएको छ । भदौ १९ अगाडि उनले सांसद पदमा शपथ लिन नपाए उनको पद स्वत: जानेछ । मन्त्रिमण्डल हेरफेर हुने अवस्था भएकाले उनको पद जाने नै अनुमान गरिएको छ । 

    सोहीकारण पनि उनी अनुपस्थित भएको हुनसक्ने उनको चर्चा चलेको ती स्रोतको दावी छ । 

    यस्तै मन्त्रीहरु माझ भने खतिवडाको अनुपस्थितिलाई लिएर फरक विषयमा चर्चा भएको एक मन्त्रीले बताएका छन् । केही दिन अगाडि गृहमन्त्री रामबहादुर थापा र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी भएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा चिया-खाजा दिने कर्मचारीमा कोरोना देखिएको थियो ।

    सो लगत्तै दुबै मन्त्री आइसोलेशनमा बसेका थिए । ती दुबै मन्त्रीको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परीक्षण भएको वा नभएको अहिलेसम्म बाहिरिएको छैन । 

    मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाको कुर्सी केही दिनअघि आइसोलेशनमा रहेका गृहमन्त्री रामबहादुर थापासँगै रहेको छ । अर्थमन्त्रीको स्वास्थ्य पनि कमजोर रहेको बताइन्छ । उनी सुगर, प्रेसरका साथै मुटु रोगी भएको बताइएको छ । यस्तोमा उनी कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण शतर्कता अपनाउँदै बैठक छोडेको गफगाफ मन्त्रीहरुबीच चलेको हो । 

    खतिवडाले स्वास्थ्य शतर्कता अपनाए राम्रो भएपनि सुरक्षित रुपमा बैठकमा आउन सकिने तर्क पनि मन्त्रीबीच चलेको बताइएको छ । 

    कारण जे भएपनि पछिल्ला दिनहरुमा अर्थमन्त्री खतिवडा भने चर्चित बन्‍ने क्रम भने जारी नै रहेको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार