काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जालाई नेपाल आइडल सिजन–३ को विजेता घोषणा गरिएको हो । यस्तै फस्ट रनरअपको उपाधि प्रवीण बेडुवाल पाए भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते ।
दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा भएको हो ।
गायन रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।
नेपाल आइडल–३ को उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।
आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।