वीरगञ्ज । पछिल्लो समय तीव्र समयमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको पर्सामा केही दिनदेखि संक्रमितको संख्या कम हुँदै गएको छ । विशेषगरी संक्रमित थपिने दर भन्दा उपचारपछि निको हुनेको संख्या बढेसँगै पर्सामा संक्रमित कम भएका हुन।
शुक्रबार सो क्षेत्रमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालामा बिहीबार राति ३ सय ८ जनाको स्वाबको नमूना परीक्षण गर्दा पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस्तैगरी पछिल्लो २४ घण्टामा पर्सामा १ सय ३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । वीरगञ्जस्थित दुई कोभिड अस्पताल र पोखरीया अस्पतालको आइसोलेसन गरी बिहीबार साँझ १ सय ३ जना संक्रमित निको भइ डिस्चार्ज भएर घर फर्किएका हुन् ।
वीरगञ्जमा अहिले १ सय ३१ जना संक्रमित उपचाररत छन् । यस्तै होम आइसोलेसनमा ८ सय ४ जना संक्रमित छन् ।
विभिन्न अस्पतालका आइसोलेसन, धर्मशाला, होटल र विद्यालयका सेमी आइसोलेसनमा ३ सय ८३ जना संक्रमितलाइ राखेर उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।