काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत प्रणालीमा सुधारका लागि २४ अर्ब ऋण सहयोग दिने भएको छ। एडीबीले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यान्वयनका लागि विद्युत प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीका लागि सो ऋण दिन लागेको हो ।
त्यसका लागि २०० मिलियन अमेरिकी डलर अर्थात २३ अर्ब ८८ करोड सहुलियत ऋणको सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपालस्थित आवासीय प्रतिनिधि मुख्तोर खामुदखानोभले ऋण सम्झौतामा हस्ताक्षर गरे।
त्यस्तै, नर्वे सरकारले यही कार्यक्रम कार्यान्वयनका लागि ३५ मिलियन अमेरिकी डलर (करिब रु.४ अर्ब १८ करोड) अनुदान दिने भएको छ। एडीबीले नेतृत्व गरेको परियोजनामा नर्वेले पनि सहवित्तीयकरण गर्न लागेको हो।
कार्यक्रममा बोल्दै सचिव ढुंगानाले देशभित्रको प्रसारण र वितरण लाइन सुधार तथा भारततर्फको अन्तरदेशीय विद्युत सञ्जाल निर्माणका लागि यो रकम खर्च गरिने बताए। उनले प्रदेश नम्बर २ का विद्युत पहुँच नभएका २० प्रतिशत घरपरिवारमा पहुँच पुर्याउन पनि रकम खर्च गरिने बताए।
एडीबीले दिन लागेको यो सहुलियत ऋण ८ वर्षको ग्रेस अवधिसहित ३२ वर्षका लागि हो। यसको ब्याजदर ग्रेस अवधिमा वार्षिक १ प्रतिशत र बाँकी २४ वर्षका लागि १.५ प्रतिशत छ।