Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • सम्धी नियुक्तिलगत्तै इश्वर पोखरेलका बन्धुलाई काउन्सिलर बनाउने तयारी


    बिहिबार, भाद्र ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • इश्वर पोखरेल र सेवन्तक पोखरेल

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्धी प्राडा उपेन्द्र कोइरालालाई सातौं पटक राष्ट्रिय बाणिज्य बैंकको सदस्य बनाई अध्यक्षमा नियुक्त गर्न खोेजेको बिषयमा ब्यापक आलोचना भइरहेको छ । गणतन्त्र प्राप्तीको आन्दोलनमा सडकमा रगत बगाउने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का हजारौं कार्यकर्तालाई अवसर नदिने, दिए पनि एक पटक अवसर पाएकाले पुनः नपाउने मापदण्ड बनाइएको छ । तर पोखरेलका सम्धी कोइरालालाई सातौं पटक अवसर दिएको बिषयमा चर्को बिरोध भइरहेको छ ।

    नेकपाकै कार्यकर्ताले समेत सामाजिक संजालमा सम्धी नियुक्तिको बिरोध गरिरहेका छन् । नेताका सम्धी, भाइभतिजा, ज्वाई, सालासाली र भान्जाभान्जीलाई पटक पटक नियुक्तिका लागि जनताले गणतन्त्र ल्याउन बलिदान दिएका थिएनन् । सम्धी नियुक्तिको बारेमा यथार्थ लेख्दा पोखरेलले मिडियालाई दुष्टको संज्ञा दिएका छन् ।  

    यसैबीच, सम्धीलाई बैंकको सदस्यमा नियुक्तिको मसी नै नसुक्दै रक्षामन्त्री पोखरेलले आफ्ना बन्धु अर्थमन्त्रालयका उपसचिव सेवन्तक पोखरेललाई कोलकातास्थित महाबाणिज्यदूताबासको इकोनोमिक काउन्सिलरमा पठाउन दबाब दिएका छन् । रक्षामन्त्री पोखरेलको चाहना अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले पोखरेललाई इकोनोमिक काउन्सिलरमा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाइसकेका छन् ।    

    अर्थमन्त्रालय अन्तर्गतका सबै आकर्षक भन्सारमा कार्यरत रहेर अकूत सम्पत्ति आर्जन गर्ने राजस्व समहूका उपसचिवमा दुई तीन जनाभित्र पर्ने सेवन्तक पोखरेललाई उपप्रधानमन्त्री इश्वर पोखरेलको दबाबमा इकोनोमिक काउन्सिलर बनाउन लागिएको छ । ६० जना सहसचिवलाई प्रदेशमा सरुवाको गृहकार्यमा जुटेको सामान्य प्रशासन मन्त्रालयले उपसचिव पोखरेलको फाइलमा निर्णय गरेको छैन । सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले अर्थमन्त्रालयबाट उपसचिव पोखरेलको सरुवा सहमतिको पत्र आएको जानकारी दिए । सामान्य प्रशासन मन्त्रालयका ती उच्च अधिकारीले नेपालफेससँग भने–‘अर्थमन्त्रालयबाट सहमतिका लागि पत्र आएको छ, निर्णय हुन बाँकी छ ।’

    यसअघि उपसचिव पोखरेल अमेरिकाको वासिङ्टनस्थित नेपाली दूताबासको इकानोमिक काउन्सिलरमा जानका लागि लागेका थिए । १ बर्षअघि रिक्त भएको काउन्सिलरमा अर्थमन्त्री डा. खतिवडाका निजी सचिव होमकान्त भण्डारीले बाजी मारेका थिए । उपसचिव भण्डारी र सेवन्तक पोखरेलको प्रतिस्पर्धामा अर्थमन्त्रीकै पीएले वासिङ्टनको काउन्सिलरमा मौका पाए । वासिङ्टनमा जानका लागि पनि रक्षामन्त्री पोखरेलले अर्थमन्त्री खतिवडालाई दबाब दिएका थिए । तर उनले आफ्नै पीएलाई उक्त मौका दिए । अहिले कोलकातामा रिक्त इकोनोमिक काउन्सिलरमा उपसचिव पोखरेललाई पठाउन रक्षामन्त्री पोखरेलले बारम्बार ताकेता गरिरहेपछि सहमतिका लागि सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पत्र पठाउन मन्त्री खतिवडा बाध्य भएका छन् ।  

       को हुन् सेवन्तक पोखरेल ?

    राजस्व समूहका उपसचिव सेवन्तक पोखरेल अधिकृत हुँदादेखि नै पटक पटक आकर्षक भन्सार कार्यालयमा बसी अथाह सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । अधिकृत उनी बिराटनगर, भैरहवा जस्ता अति आकर्षक भन्सारमा बसेका थिए । उपसचिव बढुवा हुनासाथ बीरगंज भन्सारमा पदस्थापन भई ३ बर्ष कार्यरत रहेका थिए । प्रायः सबै आकर्षक भन्सारमा काम गर्ने मौका उनले इश्वर पोखरेलकै प्रतापले पाएका छन् । बीरगंज भन्सारबाट हाल अर्थ मन्त्रालयमा कार्यरत छन् ।

     उनका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्ति आर्जनका दर्जनौं उजुरीमा छानबिन पनि भइरहेको छ । उनले आर्जन गरेको सम्पत्ति विभिन्न ब्यापारीक कम्पनीमा लगानी गरेको भन्दै उजुरी परेका छन् ।

    रक्षामन्त्री पोखरेलको सेवा गरी मेवा प्राप्त गर्ने अर्थका भाग्यमानी उपसचिव हुन् उनी । मन्त्रीका घरमा आवश्यक सबै बन्दोबस्तीका सामानको प्रबन्ध समेत उनले गर्ने गरेको स्रोत बताउँछ । अर्थमन्त्रालयमा उनलाई नेताका घरमा खाना पकाउने ग्याँस समेत पुर्याउने उपसचिवका रुपमा लिने गरिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार